बिष्णु अधिकारी ।
पाँचथरको फिदिम नगरपालिका–११ का दुई युवाले अकबरे खुर्सानी खेतीबाट गाउँमै स्वरोजगारको सम्भावना देखाउँदै सफलता हासिल गरेका छन्। निवर्तमान वडा सदस्य हरिचन्द्र जबेगु र नरबहादुर लिम्बूले मिहिनेत, लगानी र कृषिमा देखिएको नयाँ सोचको संयोजन गर्दै गाउँको माटोमै भविष्य खोजेका हुन्।
हरिचन्द्र जबेगुले पाँच वर्षअघि ‘गाउँबेशी खाद्यान्न सप्लायर्स कृषि तथा पशुपन्छी फर्म’ स्थापना गर्दै व्यावसायिक खेती सुरु गरेका थिए। २०० मन अदुवाबाट सुरु भएको उनको कृषि यात्रा आज अकबरे खुर्सानी, टमाटर र अदुवा उत्पादनमा विस्तार भइसकेको छ।
सुरुमा युवा लक्षित स्वरोजगार कार्यक्रममार्फत १ लाख रुपैयाँको अनुदान पाए पनि त्यसपछि कुनै सरकारी सहयोग नपाएको उनले बताए। उनले हाल २० रोपनी जमिन वार्षिक ९० हजार रुपैयाँमा लिजमा लिएर खेती गरिरहेका छन्। फर्ममा ४,५०० अकबरे र लाम्चे खुर्सानीका बिरुवाहरू छन्।
उनको उत्पादन झापा, इलाम र पाँचथरका बजारसम्म पु¥याइन्छ। जेष्ठ महिनाको दोस्रो सातादेखि बजारमा आएको अकबरे खुर्सानी काँचो अवस्थामा प्रति केजी २५० रुपैयाँ र पाकेको ३०० रुपैयाँमा बिक्री भइरहेको छ। जबेगु भन्छन्, “बजार व्यवस्थित नभएकाले मागअनुसार मात्र खुर्सानी टिप्नुपर्छ, नत्र सड्छ।”
नरबहादुर लिम्बू पनि व्यावसायिक खेतीतर्फ आकर्षित भए। फिदिम–११, खाल्डे निवासी लिम्बूले १७ रोपनी जमिनमा ९,००० अकबरे खुर्सानीका बिरुवा रोपेका छन्। उनले १ लाख ५० हजार रुपैयाँ लगानीमा व्यवसाय सुरु गरेका हुन्।
हालसम्म उनले १ लाख रुपैयाँ बराबरको खुर्सानी बिक्री गरिसकेका छन्। गोडमेल र अन्य कार्यका लागि ५० जना श्रमिक आवश्यक परेको उनले बताए। ३० हजार रुपैयाँ वार्षिक ठेक्कामा लिएको जमिनमा खेती गर्दै आएका लिम्बूले बजार अभावका कारण उत्पादन बिक्रीमा समस्या भोग्नुपरेको बताएका छन्।
“एक बोटबाट ३–५ केजीसम्म उत्पादन हुन्छ, बजार मिल्यो भने वार्षिक ४८ लाखसम्मको व्यापार सम्भव छ,” उनले भने। अठराईबाट ल्याएका १,२०० बिरुवाबाट ८० हजार रुपैयाँ बराबरको उत्पादन भएपछि उनले यो खेतीलाई अझ विस्तार गरेका हुन्।
काँचो खुर्सानी प्रति केजी २०० र पाकेको २५० रुपैयाँमा बिक्री भइरहेको उनले जानकारी दिए। तर तीन वर्षदेखि व्यावसायिक खेती गर्दै आए पनि उनले पनि सरकारी सहयोग नपाएको गुनासो गरे।
युवाहरूले देखाएको यो लगानी, मिहिनेत र आशाको बाटोले गाउँमा कृषिमार्फत रोजगारी र सम्भावनाको ढोका खोलिदिएको छ। फिदिमको खाल्डेदेखि झापाको बिर्तामोडसम्म पुगोस् या अझ टाढा — अकबरे खुर्सानीमा उम्रिएको सफलता गाउँलेहरूको सोच परिवर्तन गर्ने प्रेरणाको स्रोत बन्न थालेको छ।
बिहिबार, साउन १५, २०८२ मा प्रकाशित