बिष्णु अधिकारी
पाँचथरको फालेलुङ गाउँपालिका–६ स्थित राना साम्पाङ्ग मौरीपालन फर्म ग्रामीण क्षेत्रमा व्यवसायिक मौरीपालनको सफल उदाहरण बनेको छ। प्राकृतिक रूपले हरियाली र शान्त वातावरणले भरिएको क्षेत्रको फाइदा उठाउँदै स्थानीय कृषक प्रकाश राईले सुरु गरेको यो फर्म हाल फालेलुङकै नमुना उद्यमका रूपमा स्थापित हुँदै गएको छ।
तीन वर्षअघि पूर्ण रूपमा शून्य लगानीबाट सुरु गरिएको मौरीपालन हाल वार्षिक तीन लाख रुपैयाँसम्म आम्दानी दिने व्यवसायमा परिणत भएको छ। सुरुमा केही थान मौरीका घारबाट सुरुआत गरेका राईले अहिले परम्परागत र आधुनिक प्रविधि मिसाएर ८० घार सञ्चालनमा ल्याएका छन्। मौरीबाट संकलन गरिएको मह स्थानीय बजारमै प्रतिकेजी १७०० रुपैयाँ र बोतलको २००० रुपैयाँमा बिक्री हुने गरेको छ। उनका अनुसार गाउँमै ग्राहक पर्याप्त रहेकाले अधिकांश मह स्थानीय उपभोक्तामै बिक्री हुन्छ, बाँकी थोरै मात्र फिदिम बजारसम्म पुर्याइने गरिन्छ।
फर्मको बढ्दो प्रभाव र आम्दानी क्षमताले प्रदेश सरकारको ध्यानसमेत तानेको छ। मौरीपालन प्रवर्द्धन कार्यक्रम अन्तर्गत सरकारले राईलाई दुई लाख पचास हजार रुपैयाँ बराबरको अनुदान प्रदान गरेको छ। सरकारी सहयोग प्राप्त भएपछि मौरीपालनलाई थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन सहज भएको राई बताउँछन्।
उनले सञ्चालनमा ल्याएको यो मौरीपालन फर्मले गाउँमा रोजगारी सिर्जना मात्र गरेको छैन, अन्य कृषकलाई पनि मौरीपालनतर्फ आकर्षित गराएको छ। केही स्थानीयले राईकै प्रेरणामा मौरीपालनको अभ्यास थालेका छन्। तर, मौरीका घार जङ्गली जनावरबाट जोगाउनु भने अझै पनि प्रमुख चुनौतीको रूपमा रहेको उनले बताए।
वडाध्यक्ष अमर राईका अनुसार प्रकाश राईले मौरीपालनमार्फत जुन ढंगले स्थानीय स्रोतको प्रयोग गर्दै आयआर्जनको माध्यम बनाएका छन्, त्यो गाउँभरिको लागि उदाहरणीय हो। “फार्मले वातावरणीय संरक्षण र आर्थिक आत्मनिर्भरता दुवै पक्षलाई सघाएको छ। यस्तो प्रकारको उद्यमबाट गाउँमै बसोबास गरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश पुगेको छ,” वडाध्यक्ष राईले भने।
राना साम्पाङ्ग मौरीपालन फर्मले ग्रामीण अर्थतन्त्रलाई टेवा दिँदै मौरीपालन क्षेत्रको सम्भावना उजागर गरिरहेको छ। उद्यमशीलताको उत्कृष्ट नमुना बनेका प्रकाश राईको यो प्रयासले फालेलुङ मात्र होइन, सिंगो पाँचथरमै मौरीपालनको सम्भावना फैलाउने अपेक्षा गरिएको छ।