जीवन राई
झमझम परिरहेको पानीमा प्लास्टिक वा छाता ओडेर हिड्नु । रुखका पातहरूबाट तप तप झरिरहेको पानीको सँगीत सुन्न पाउनु । पानी रोकिएपछि भुइकुहिरोले पहाडलाई छेक्नु । फेरी हावा त्यो कुहिरो उडाएर क्षितिज कटाउनु । डाँडामा निस्केर सुसेला हान्नु । नजिकैको गोठमा वा घरमा गएर चिया सुरुप्प सुरुप्प पार्नु । साँझमा किराहरू आवाज सुन्नु, जस्तामा झरेको पानीको आवाज सुन्दै निदाउनु । न गर्मिको आभास हुन्छ न मच्छडको चिन्ता ।
हरियाली मस्त दृश्यले आँखा बिझाउदैनन् । छिनछिनमा मौसमको लुकामारी र टाढा टाढासम्मको दृश्य कलात्मक लाग्छ । यस्तै यस्तै अनुभव गर्नका लागि पाँचथरका उच्च पहाडी क्षेत्र घुम्न उपयुक्त हुन्छ । कंकिर्टका घरैघरको सहर, गाडीको ट्या ट्या र टुटु, मान्छेहरू भिड र अनेकन स्वार्थभन्दा केही दिन यी पहाडमा घुम्न रमाइलो लाग्छ । बाटाेका दुबैतर्फका रुखका तप्केनीबाट झरेको पानी होस् या मौसम खुलेर घाम लाग्दाको न्यानो पन उत्तिकै प्यारो लाग्छ । यी लेकाली क्षेत्रमा तनमा शीतलता र मनमा आनन्द आउछ । प्रकृतिको कलात्मकता हेरीरहुँ लाग्छ । डाँडबाट टाढा क्षितिज निहाल्दै प्रेमी वा प्रेमीकालाई सम्झनुपनि त आनन्दको कुरा हो ।
मान्छे र माटोको खास सम्बन्ध हुन्छ । माटो प्रकृति पनि हो । माटो पानी पनि हो । र, माटो जीवनपनि हो । पाँचथरको फिदिम नगरपालिका, याङ्वरक र फालेलुङ गाउँपालिकाको दृश्य लोभलाग्दा छन् । चौँरी डुल्ने यि लेकमा हाब्रे (रेड पान्डा) खेल्नछन् । थरीथरीका चराचुरुङ्गी देखिन्छन् । चउर हरियाली मस्त छन् । थरीथरीका भुईफूल देखिन्छ । सुनाखरी रुखसँग इतिरहेको देखिन्छ ।
यसपालि फालेलुङका उच्च पहाडी क्षेत्रका केही तस्विर देखाउछौँ । जहाँ जलजले पोखरी कमल फूल फुलाएर हासेको छ । हाब्रे उत्तिकै रमाएको देखिन्छ । बर्खा, कुहिरो भएपनि बेला बेला हिमालले पनि मुख देखाउछ । हिमाललाई कुहिरोले फेटा लगाएर बसेकोपनि देखिन्छ ।
सबै तस्विर – जीवन राई