पाँचथर– घरसँगै जाेडिएको खोर्सानी बारीमा गोडमेल गरिरहेकी खुन्सुहाङमा नेम्बाङ केही दिनमै राताम्मे भएर खोर्सानी फल्ने आशा सुनाउँदै थिईन । अकबरे खोर्सानी कतै फूलिरहेका थिए त कतै चिचिला देखिन्थ्याे । बोट हलक्क बढेका थिए । यि हल्लक बढेका बोटबाट राम्रै आम्दानी हुने आशा नेम्बाङले सुनाइन् ।
‘२० हजार जति बिरुवा रोपेका छौँ । यो पाल राम्रै देखिएको छ । यसरी अकबरे खोर्सानी खेती गर्न थालेको धेरै साल भयो’ उनले भनिन् ‘राँके (नजिकैको बजार) लगेर बेच्छौँ, घरमै पनि व्यापारी किन्न आउँछन् ।’
उनीमात्र होइन पाँचथरको फाल्गुनन्द गाउँपालिका–४ चिलिङदिनका अधिकांश व्यक्तिका घरमा खोर्सानी खेती गरिएको छ । चिलिङदिनको पहिचानकै रूपमा अकबरे खोर्सानी स्थापित भएको छ । किसानहरू यतिखेर अकबरे खोर्सानी गोड्दै गरेका भेटिन्छ । यो ठाउँमा व्यवसायीक खेतमा पछिल्लो दशकमा किसान सक्रिय छन् । यहाँको खोर्सानी किसानले आर्थिक आम्दानी तथा पहिचान स्थापना गरेका छन ।
यो वार्डमा प्रायः घरमा अकबरे खेती हुन्छ । विभिन्न प्रविधि अपनाएर खेती गरिएको हुन्छ । यहाँको खोर्सानी गुणस्तर भएको बताइन्छ । ‘यहाँ प्रायः घरमा खोर्सानी खेती हुन्छ । कतिले धेरै र त कतिले थोरै क्षेत्रमा खेती लगाएका छन्’ किसान मिलन नेम्बाङले भने ‘पछिल्ला केही वर्ष किसानले आफ्नै प्रयासमा खेती बढाईरहेका छन् । स्थानीय सरकारले सानोतिनो सहयोग गरेपनि प्रदेश र संघ सरकारले बढि प्राथमिकतामा राखेर किसानलाई सहयोग गर्नु पर्छ ।’
यो क्षेत्रका किसानहरू आफै बिरुवा उत्पादन गर्ने र खेती गर्ने गर्छन् । कतिपयले खोर्सानीकाे बिरुवा बेचेर आम्दानी गर्छन् । यहाँ धान, मकै खेती हुने जग्गामा अकबरे खुर्सानीको खेती लगाइएको छ । अकबरे खोर्सानी टिप्ने मुख्य सिजनमा बेमौसमी कामदार समेत खटाउनु पर्ने किसानहरू बताउँछन् ।
चिलिङदिनमा सर्वाधिक खेती हुने भएपछि फाल्गुनन्द गाउँपालिकाको धेरै ठाउँ अकबरे खती विस्तार भईरहेको छ । अन्यखेतीसँगै अकबरे खेती हुने गरेको छ । यहाँका विभिन्न वार्डका गाउँमा अकबरे खेती देखिन्छ । तर कति हेक्टर खेती भईरहेको छ यकिन तथ्याङ्क छैन् । अबको आर्थिक वर्षमा तथ्याङ्क सङ्कलनको काम हुने गाउँपालिका अध्यक्ष वृजहाङ आङ्देम्बे बताउँछन् ।
‘चिलिङदिन अकबरेको पकेट क्षेत्र हो । हामीले कृषि क्षेत्रमा लगानी बढाउन हरेक वार्डलाई पकेट क्षेत्रको रूपमा विकास गरेका छौँ’ गाउँपालिका अध्यक्ष वृजहाङ आङ्देम्बेले भने ‘आगामी सहयोग बढाउने सोचमा छौँ ।’