बारा ।
बारा । बारा फत्तेपुरका राजन राय चौधरी पुल बनाउने काममा गत महिना पाँचथर गएका थिए । ठेकेदार मनोज चौधरीले पुल निर्माणको काम छ भनेर रायलाई सँगै लगेका थिए । परिवारका एक्ला छोरा उनै राय चौधरीको पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा शनिवार मृत्यु भएको छ ।
राजन रायकी बहिनी राधा रायले शनिबार दिनभर कुराकानी भइरहेको दाइको साँझ एकाएक पुल भाँचिएर मृत्यु भएको खबरले साह्रै पिडा भएको बताइन् । रायसँगै पुल बनाउने काममा गएका बारा फत्तेपुरकै थप २ जनाको पनि मृत्यु भएको छ । मृत्यु भएका सबै एकै गाउँका हुन् ।
रायसँगै सोही गाँउका रुपलाल चौधरी, राकेश चौधरीको मृत्यु भएको हो भने सोही गाँउका अन्य ३ जना गम्भीर घाइते भएका छन् । मेची राजमार्गमा पर्ने पाँचथरको हिलिहाङ र पाँचथर नगरपालिका जोड्ने हेवाखोलामा निर्माणाधीन बेलिब्रिज निर्माण गर्ने क्रममा शनिबार साँझ भाँचिएर खसेको थियो ।
७० मिटर लामो मोडुलार पुल भाँचिएको थियो । पुल निर्माणमा ६ जना कामदार बाराको फत्तेपुरबाट गएको खुलेको छ । ‘दाइले नै काम गरेर घरमा सबै खर्च धान्दै आउनु भएको थियो’, राजनकी बहिनी राधा रायले भनिन् ‘भाउजु पनि ढाडको बिरामी हुनुहुन्छ, उठ्नै सक्नु हुँदैन । बच्चाहरु पनि साना साना छन् ।’
जीतपुर सिमरा १२ का निर्वतमान वडाध्यक्ष लालबाबु चौधरीले घटनापछि गाउँनै शोकमग्न रहेको बताए । पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बेलिब्रिजको पुलको काम अन्तिम चरणमा पुगेको र काम गर्दागर्दै पुल भाँचिएर दुर्घटना भएको बताए ।
उनका अनुसार घटनामा घाइते भएकाहरुको बिराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। यस्तै मृतक तीन जनाको पोष्टमार्टम लगायत अन्य कागजपत्र बनाउने काम भइरहेको उनले बताए । यस्तै हेवा खोलाको निर्माणाधीन बेलिब्रिज भाँचिएको विषयमा भौतिक पूर्वाधार मन्त्रालयले एक छानविन समिति गठन गरेको समेत पोखरेलले बताए ।
उनका अनुसार ७० मिटर लामो बेलिब्रिज (मोडुलर ब्रिज) नेपालमा निर्माण भएका हालसम्मकै सबैभन्दा लामो भएको पोखरेलले बताए ।
३ करोड ४९ लाख लगानीमा निर्माण भइरहेको पुलको दोभान सुपर सौगात लाइट बिल्डर्स जेभी कम्पनीले ठेक्का पाएको थियो ।
याे समाचार रातापाटिकाे लागी शारदा पोखरेलले लेखेकी हुन् ।