पाँचथर । कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबार सम्पन भएको छ । बिराटनगरमा सम्पन १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुल २३ पदक पाँचथरले जितेको छ ।जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानका अनुसार ५ स्वर्ण¸ ६ रजत र १२ कास्य सहित पाँचथरले २३ पदक जितेको हो ।
अध्यक्ष मोक्तानका अनुसार पाँचथरले तेक्वान्दोमा ३ स्वर्ण १ रजत र ४ कास्य पदक जित्न सफल रहयो । उस्सुमा २ स्वर्ण, १ रजत र ४ कास्य जितेको हो । ४ कास्य पदक कराँतेका हात लाग्यो । एथ्लेटिक्स तर्फ ४ रजत र ३ कास्य पदक पाँचथरले जितेको छ ।
प्रतियोगितामा उस्सु तर्फ गौरब विक,रेबिका काम्बाङले स्वर्ण पदक जितेका हुन् । बलहाङ माबोले रजत र प्रज्जवल सुन्दाश,सुनिता लिम्बु, सन्जिता योङहाङ र सुदिप योङहाङले कास्य पदक जितेका हुन् ।
तेक्वान्दो तर्फ जेकव सेङमी,मुस्कान रम्तेल र जमुना बान्तवाले स्वर्ण जितेका हुन् । कराँते तर्फ बबिता ओझाले फरक फरक बिधामा २ कास्य , भानुभक्त तुम्बापो र खेमराज लिम्बुले कास्य पदक जितेका हुन ।पाँचथरले एथ्लेटिक्स तर्फ ४ रजत र ३ कास्य पदक जितेको छ । पाँचथरको लागी स्वर्ण जित्ने गौरब विक,रेबिका काम्बाङ, जेकव सेङमी,मुस्कान रम्तेल र जमुना बान्तवा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रिय प्रतियोगिताका छनोट भएको जिल्ला खेलकुद विकास समिती पाँचथरका अध्यक्ष मोक्तानले जानकारी दिए ।
मोक्तानका अनुसार स्वर्ण पदकबाहेक उत्कृष्ट खेल प्रर्दशन गर्दै भलिबलका दिनेश खत्रि र कवडीका अनुप नेपाली केन्द्रिय प्रतियोगिताका छनोट भएका छन् । केन्द्रिय प्रतियोगिताको लागी पाँचथरबाट इतिहासमा पहिलो पटक ७ जना खेलाडी केन्द्रिय प्रतियोगिताको लागी छनोट भएको मोक्तानले जानकारी दिए । राष्ट्रिय प्रतियोगिता जेठ २८ देखि ३० गतेसम्म काठमाण्डौंमा हुँदै छ ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता चालु शैक्षिक सत्रमा १८ वर्ष भन्दा मुनिका कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत छात्र छात्राहरू बीच आआफ्नो समूहमा हुने भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्ट प्रतियोगिताहरू पर्दछन् ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थानीय तह स्तर, जिल्ला स्तर, प्रदेश स्तर र केन्द्र स्तरमा संचालन हुन्छ । तर अन्तर्राष्ट्रिय स्तरमा खेलिसकेका खेलाडी भने यस प्रतियोगितामा सहभागी हुन पाउँदैनन् । स्थानीय तह स्तरको उत्कृष्ट खेलाडीले जिल्ला स्तरमा प्रतिस्पर्धा गर्न पाउने र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भई उत्कृष्ट स्थान हाँसिल गर्ने खेलाडीहरूलाई सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिसमा प्रदेश स्तरमा प्रतिस्पर्धा गराइन्छ ।
यसरी सातै प्रदेशमा प्रदेश स्तरीय प्रतिस्पर्धामा उत्कृष्ट स्थान हाँसिल गर्ने खेलाडीहरूलाई प्रदेश स्तरीय खेलकुद विकास समितिको सिफारिसमा केन्द्र स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विभिन्न खेलकुद प्रतियोगितामा सहभागी गराइन्छ ।