पाँचथर । पाँचथरको मिक्लाजुङ– २ सप्तमी बजारमा रहको युवा वर्ष माध्यमिक विद्यालयमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । स्थानीय धनरुप थापा मगरले उहाँको स्वगीय बुवा आमाको स्मृतिमा विद्यार्थी प्रोत्साहन अक्षय कोष स्थापना गरेका हुन् । थापाले आफ्ना पिता स्व.धनबहादुर थापा मगर,माता स्व.अतिमाया थापा मगर र श्रीमती स्व.पदममाया थापा मगरको स्मरणमा अक्षयकोष स्थापना गरेका हुन् ।
कोषबाट वार्षिक रुपमा अतिविपन्न, गरिब तथा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच स्थानिय समाजसेवी धनरुप थापा मगरले उक्त कोषको रकम विद्यालयका प्रधानाध्यापक विष्णुकुमारी राईलाई हस्तान्तरण गरेका हुन् ।
गरिबी र विपन्नताका कारण बीचमै पढाई छाड्ने प्रवृत्ति बढेको बताउँदै थापाले कोष स्थापना गरेको बताए । कोषले त्यस्ता विद्यार्थीहरुलाई सहयोग गर्ने विश्वास थापाले व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक विष्णुकुमारी राईले शैक्षिक क्षेत्रको विकासका लागि थापा परिवारले गरेको उदाहरणीय कार्यको उहाँहरु प्रशंसा व्यक्त गरिन ।
कोषबाट प्राप्त भएको ब्याजबाट विद्यालयमा अध्ययनरत गरिब, विपन्न र उत्कृष्ट छात्रछात्रालाई वार्षिक रुपमा पुरस्कृत गरिने विद्यालयका शिक्षक जंगबहादुर थापा मगरले जानकारी दिए । विद्यालयमा स्थापना भएको अक्षयकोषले शैक्षिक विकासमा ठूलो टेवा पुगेको शिक्षक थापाले बताए । अक्षयकोेषबाट कक्षा ८ देखि १२ सम्म उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरिने शिक्षक थापाले बताए ।