पाँचथर । लेउतीको बाढीले कोशी राजमार्ग बगाएको छ। भारी वर्षापछि लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डअन्तर्गत साँगुरीगढी गाउँपालिका-६ फेदी नजिकैको सडक बगाएको हो।
बिहान करिब ५:३० तिर फेदीस्थित लेउती खोलाको बाढीले करिब १०० मिटर सडक कटान गरेपछि उक्त खण्ड दुबैतर्फबाट पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
घटनास्थलमा प्रहरी खटिइसकेको र सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुवनारायण श्रेष्ठले जानकारी दिए। त्यस्तै सोही खण्डको नमस्ते झरना छेउमा रुख ढलेर र माथिबाट आएको पहिरोका कारण पुनः सडक अवरुद्ध भएको छ।
प्रहरीका अनुसार दुबै स्थानमा सडक खुलाउन तत्काल पहल भइरहेको छ तर निरन्तर वर्षाका कारण चुनौती रहेको बताइएको छ। दुबै स्थानमा सडक भत्किएपछि कोशी राजमार्गमा सवारी साधन रोकिएका छन्।
त्यस्तै तमोर करिडोर पनि अवरुद्ध भएको छ। धनकुटा चौबिसे गापा- ४ निर्माणधिन तमोर करिडोर सडक खण्डको छरुवा खोलामा बाढी आउँदा सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ। तमोर करिडोर अवरुद्ध सँगै पाँचथर ताप्लेजुङ तर्फकाे यातायात पनि अवरुद्ध भएका छन् ।




