पाँचथर । जिल्लाको फाल्गुनन्द वडा नम्बर १ को जंगलमा भरुवा बन्दुक पड्किदा एक जना युवकको ज्यान गएको छ । मंगलबार राति स्थानिय मनबहादुर सम्बाहाम्फेसँग भरुवा बन्दुक लिएर फाल्गुनन्द–१ को जंगलमा गएका सुन्दर सारुलाई पेटमा बन्दुक पड्केर लाग्दा ज्यान गएको हो ।
जंगलमा बन्दुक पड्केर घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी चौकी नवमीडाँडाबाट खटेको प्रहरी टोलीले सारुलाई उद्धार गरी अस्पताल ल्याइ पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनीसँगै बन्दुक लिएर जंगल गएका ३३ वर्षीय सम्बाहाम्फेलाई बुधबार भरुवा बन्दुकसहित पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक) रुपेश तामाङले जानकारी दिए ।