पाँचथर– पाँचथरको फालेलुङ गाउँपालिकाको चारराते भन्ने ठाउँमा आठौँ चौंरी महोत्सव सम्पन्न भएको छ । विभिन्न गतिविधि सञ्चालन गर्दै महोत्सव सम्पन्न भएको हो ।
नयाँ वर्षको अवसर पारेर महोत्सव आयोजना हुने गरेको छ ।
समुद्र सतहदेखि ३ हजार ४ सय ५० मिटर उचाईमा चौंरीका माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने भन्दै आयोजना भएको यो महोत्सवमा विभिन्न गतिविधि भएका थिए ।
भारतसँग सिमाना जोडिएको यो ठाउँमा महोत्सवका लागि आन्तरिक पर्यटकको घुइँचो लागेको थियो । भारतीय पर्यटक पनि महोत्सव स्थलमा देखिए ।
तीन दिनको महोत्सवमा चौंरी प्रदर्शनी, याक राईड, डोरि तान्ने प्रतियोगिता, खेलकुद, सांस्कृतिक कार्यक्रम, चौंरीजन्य खानपान लगायतका क्रियाकलाप भएका थिए । कोशी प्रदेश भ्रमण वर्षको पहिलो दिनलाई सेलिब्रेसन गरिएको थियो । कोशी प्रदेशका पर्यटन मन्त्री सदानन्द मण्डल, प्रदेश सासद मैया श्रेष्ठ लावती सहितको उपस्थिति थियो ।
महोत्सवमा नेपालका विभिन्न क्षेत्रबाट र भारतीय पर्यटक पनि सहभागी थिए । प्रतिकूल मौसम र भूगोल भएपनि यहाँ पुग्नेहरू रमाएका देखिन्थे । सडक, पूर्वाधारको स्तर उन्नतिको आवश्यकता त्यहाँ पुगेकाले महसुस गरेका थिए ।
महोत्सव फालेलुङ गाउँपालिका, श्री दीप ज्योति युवा क्लब, फालेलुङ कञ्चनजङ्घा पर्यटन विकास समिति र चौरी पालक कृषक समूहको आयोजनामा सम्पन्न भएको हो ।