बसन्तपुर (तेह्रथुम)– लिम्बु परम्परालाई झल्काउने गरी बनाइएको चो?लुङ पार्कमा विहानैदेखि चलहपहल थियो । विभिन्न ठाँउबाट घुम्न आउनेको जमघट हुने ठाँउमा यो पल्ट कविहरुको जमघट थियो ।
नेपालका प्रतिष्ठित कविले तेह्रथुमको लालिगुराँस नगरपालिकाको बसन्तपुरमा रहेको पार्कमा वर्तमान परिस्थिति, प्रेम तथा विभिन्न विषयका कविता सुनाए । कविता कन्सर्ट गरेर कविहरुलाई यहाँ बोलाइएको थियो ।
प्राकृतिक रुपमा सुन्दर ठाँउमा कवितहरुका शब्दाका बान्कि निक्कै सुन्दर लाग्थे । कार्यक्रममा प्रमुख अतिथि श्रवण मुकारुङले ‘विसे नगर्चिको बयान’ कविता सुनाए । २०६२÷०६३ सालको जनआन्दोलनमा चर्चित यो कविता पुनः सुनाए ।
राजतन्त्रका कुरा चलिरहेकाले पुराना दिन सभ्झिएको भन्दै यो कविता सुनाएका थिए ।
पुर्खाले फौदारी खेलेको
आफूले छेलो हानेको
घुँयेत्रो फालेको
यो डाँडाको बूढो रूखमुनि बसेर
पर…बिजुलीको हाइटेन्सन लाइनमुनि
हरियो घाँस नपाएर
अल्मलिरहेका गाईवस्तु हेर्दै
मेखबहादुरखुकुरीले खुट्टाको नङ काटिरहेछ
मुकारुङले पछिल्लो समयको चर्चित कविता मेखबहादुरको खुकुरीले मान्छे काट्दैन सुनाउँदा कविता पारखिले अरु कविता सुनाउन हौसाइरहेका थिए । ‘
जव बज्न थाल्छ नौमती, च्याब्रुङ
हावा पनि बग्न थाल्छ बोकेर बैशालु सुगन्ध
उनको शरिर औडाहाले जल्न थाल्छ
अनि हेर्छिन ऐना
तर ऐनामा देख्छिन् फरक फरक अनुहार
लाहुरे
साईन्स टिचर
र उनको भूतपूर्व प्रेमी
जो सप्सु मेलाबाट अन्तिम चुम्बन दिएर बेपत्ता भएको थियोे
इलामका कवि प्रकाश थाम्सुहाङले कविता सुनाउँदै गर्दा धेरै नोष्टाल्जिक भएका थिए । कोहि ढुङ्गा बसेर कविता सुनाउदै थिए कोहि रुखको फेदमा बसेर । औपचारीकता थिएन, केवल कविता बाचन । विभिन्न रसका कविताले चोलु?ङ पार्क गुञ्जीरहेको थियो । आयोजक लालिगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबोहाङका अनुसार कविताको माध्यमबाट सन्देश प्रभाह गर्नकालागि यो कार्यक्रम गरिएको हो ।
बर्षौदेखि हुर्किएको अग्नि वृक्षलाई
इङकार गरि
जब तिम्रो मोतिबिन्दू ग्रसित आँखाहरुले हेर्न
मेरो घाम जतिकै पहिचानलाई इङकार गर्यौ
जब तिम्रो मक्किएको मस्तिकले स्विकार्न
तेहिक्षण हो मैले
खुलेयामा तिम्रो फोहोरीको सोचमा
बारुदको केहि छर्रा छर्किदिने निर्णय गरे
सुनसरीकी अस्मिता विष्टका कवितामा विद्रोहका स्वर थिए । गुराँसको बगैचाको काखमा रहेको यो पार्क घुम्न आउनेहरुपनि कवितामा रमाएका देखिन्थे ।
अहिलेको समयमा चर्चित कवि नवराज पराजुलीका कवितामा रमाउनेको संख्या धेरै थियो । चर्चित दुई कविता सुनाएका थिए ।
मेयर अर्जुनबाबु माबोहाङ, स्वप्नील स्मृती, दिपक सापकोटा, अरुण बराल, सुन्दर कुरुप, लिला अनमोल, देवान किराती, हाङयक अज्ञात, राजकुमार अनिश्चित, अभागि थेगुवा, अमित थेवे, भगिश्वर लिम्बु लगायतका कविता सुनाएका थिए ।
चर्चित कवि आफ्नै ठाँउमा सुन्न पाउँदा खुसि देखिन्थे । छथरको शुक्रवारेबाट कार्यक्रममा आएका विक्रम पौडेलले चर्चित कविहरुलाई आफ्नै जिल्ला सुन्न पाउँदा निक्कै आनन्द अनुभुति भएको सुनाए ।