पाँचथर । साढे दुई दशकअघिदेखि पपगायन र संगीत मार्फत उदाएका चर्चित गायक दिपक बज्रचार्य आफ्नो सांगीतिक समूह रिदम ब्याण्डसहित फागुन २ गते प्रेम दिवशको दिन फिदिम आउने भएका छन् । हेल्प टुगेदर पाँचथरको आयोजनामा बृहद साँस्कृतिक तथा फोटो प्रर्दशनी मेलामा फागुन २ गते प्रेम दिवशको दिन साँगेतिक प्रस्तुती दिनेगरी आफ्ना टोलीसहित आउन लागेको हेल्प टुगेदर पाँचथरका सचिब नबिन बुढाथोकीले जानकारी दिए ।
आफ्नै साउण्ड इन्जिनीयर, संगीतकार तथा प्राविधिकहरुसहित फिदिममा ३ घण्टा लामो साँगेतिक प्रस्तुती दिने कार्यक्रम तय भएको बुढाथोकीले बताए । यस वर्ष प्रदर्शनी मेलामा साँस्कृतिक कार्यक्रमलाई फरक र विशेष बनाउने प्रयास स्वरुप चर्चित दिपक बज्रचार्यलाई फिदिम ल्याउन लागिएको उनले जानकारी दिए ।
पछिल्लो गीत मनमगनबाट धेरै नै चर्चा कमाएका बज्राचार्यले आफ्ना नयाँ पुराना गीतहरु गाउनेछन् । काली काली हिस्सी परेकी…, ओ अमिरा…, समय.., कत्ति बस्छौ माईतीघरमा.., अँध्यारोमा.., मायाको डोरीले.., जाऊ फर्केर जाऊ.., म कुनै ऋतु हैन.., तिमीलाई भुलेको छैन.., नदुखेको मन जानी जानी…, झुमी झुमी…, सानी हुँदै मनमगनजस्ता थुप्रै हिट गीतहरुबाट फिदिमका दर्शक नचाउनेगरी बज्रचार्यको रिदम ब्याण्ड फिदिम आउन लागेको हेल्प टुगेदर पाँचथर अध्यक्ष सुसिल श्रेष्ठले जानकारी दिए ।
‘टिनएज, युथ तथा वल्ड जेनेरेशनलाई समेत दिपक बज्रचार्यको संगीतले नचाउने छ । यही अपेक्षाले उनलाई फिदिममा आमन्त्रण गरेका हौं ।’ श्रेष्ठले भने, ‘देश तथा विदेशमा समेत साँगेतिक प्रस्तुतीमा व्यस्त हुने उनको ब्याण्डलाई प्रदर्शनी मेलामा सस्तो टिकट दरमा हेर्न पाउनुनै यहाँका दर्शकका लागि फाइदा हो भन्ने हामीले ठानेका छौं ।’ गत वर्षमात्रै उनले बजारमा ल्याएको ‘काँचो माया…’बोलको गीतले डेढ करोड बढी भ्यूज बटुलेको छ । विशेष गरी उनले नेवारी धिमे बाजासहित विभिन्न साँगेतिक कार्यक्रमहरुमा दिने गरेका प्रस्तुतीले दर्शकको मन लोभ्याउने गरेको छ । कुनै समय साँगेतिक क्षेत्रमा छुट्टै पहिचान र उचाई छुन सफल उनी अहिले पनि साँगेतिक क्षेत्रमा उत्तिकै व्यस्त र महङ्गा कलाकारहरुको लिस्टमा पर्ने गर्दछन् ।
दिपक बज्रचार्यको प्रस्तुतीमा दर्शको भिड व्यवस्थापनका लागि सोही अनुसार सुरक्षा व्यवस्था तथा स्टेज व्यवस्थापनमा गरिने आयोजकले बताएका छन् ।