पाँचथर । फिदिम फालोट सडक खण्ड अन्तर्गत फेमे खोलाको पुल गत असोजमा आएको बाढिले बगाएर लगेपछि पुनः निर्माणको काम अघि बढेको छैन । बाढीले पुल बगाएपछि अस्थायी डाइभर्सन बनाएर गाडी चलाइएको छ ।
हिउँदभरि डाइभर्सनबाट गाडी चलाउन सकिने भए पनि बर्खायाममा खोलामा गाडी तर्न सक्दैनन् । पुल बनाउने कामले प्राथमिकता नपाउँदा यो क्षेत्रका बासिन्दा वर्षायाममा समस्यामा पर्ने चिन्तामा छन् ।
‘हिउँदमा पानी सानो छ । हाइड्रोमा पनि लगाइएको छ र डाइभर्सनबाट गाडी कुदाउन सजिलो भएको छ । तर वर्षा सुरु भए गाडी चलाउन सकिँदैन । यातायात सुविधा मात्र नभई खाद्यान्न आपूर्तिमा नै समस्या पार्छ,’ फिदिम– ११ का स्थानीय बासिन्दा आशिष आङ्बोले भने, ‘केही महिनापछि वर्षा सुरु हुन्छ । अहिलेसम्म पुल बनाउने सुरसार छैन ।’
फिदिम फालोटले पाँचथरका ठूलो क्षेत्र ओगट्छ । सडक कालोपत्रे भए पनि पुल बगाएपछि समस्या थपिएको छ । फालेलुङ गाउँपालिका र फिदिम नगरपालिकाका १०, ११, १२ र १३ नम्बर वडाका बासिन्दा प्रत्यक्ष रूपमा यो सडकबाट लाभान्वित हुन् । बेलिब्रिज बनाउने चर्चा चले पनि यसको प्रक्रिया नै अघि बढ्न सकेको देखिँदैन । ‘हामीले प्रदेश सरकारलाई भनिरहेका छौँ । पत्र पठाएका छौँ । विपद् व्यवस्थापन समितिबाट निर्णय गरेर पठाइएको छ । तर, काम अघि बढ्न सकेको छैन,’ फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले भने ।
कोशी प्रदेश सरकारले बेलिब्रिज बनाउने भने पनि अहिलेसम्म सुरसार देखिएको छैन । प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईले स्थलगत अवलोकन गरी तत्काल बेलिब्रिज बनाउने प्रतिबद्धता जनाएको पनि चार महिना बितिसकेको छ । पूर्वाधार विकास कार्यालय पाँचथरले इस्टिमेट बनाएर पठाए पनि बाँकी पक्रिया अघि बढ्न सकेको छैन । कहिले बेलिब्रिज राख्ने, कहिले पुल बनाउने वा कलभर्ड बनाउने भन्ने कुराले अन्योल छाएको देखिन्छ ।
‘कहिले काम अघि बढाउने भन्ने यकिन नै भएको छैन । हामीले भनिरहेका छौँ । इस्टिमेट गरेर पठाएका छौँ,’ पूर्वाधार कार्यालय पाँचथरका प्रमुख शैलेन्द्रकुमार सिंह भन्छन्, ‘यहाँका बासिन्दाले कहिले काम सुरु हुन्छ भनेर सोधिरहनुभएको छ ।’
हिउँदमा गाडी चलेको देखिन्छ । तर, वर्षायाम सुरु हुन केही महिना मात्र बाँकी रहँदा पनि बेलिब्रिज राख्ने कामले प्रथामिकता पाएको देखिँदैन । सरकारले समयमा काम नबढाउने भने यो क्षेत्रका बासिन्दाले नजिकिँदै गरेको वर्षामा पनि ठूलो सास्ती खेप्नुपर्ने देखिन्छ ।