पाँचथर ।फिदिम भेट्रान्स क्लबको आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । ४० वर्ष माथिका फुटबलरहरुको सहभागिता रहने प्रतियोगिता माघ ९ गतेदेखि १२ गतेसम्म फिदिम माबिको मैदानमा हुनेछ ।
प्रतियोगितामा एक अन्तराष्ट्रिय टोली सहित ८ टोलीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। प्रतियोगितामा आयोजक फिदिम भेट्रान्स क्लब, युनाइटेड फ्रेन्डस क्लब बुङकुलुङ दार्जिलिङ, धरान भेट्रान्स सुनसरी, दुधे भेट्रान्स झापा, रेडस्टार भेट्रान्स झापा,गोरख भेट्रान्स इलाम बैद्ध भेट्रान्स रानिटार पाँचथर र मोरङ भेट्रान्स को सहभागिता रहने आयोजकले जानकारी दिए ।
प्रतियोगिताको आयोजनाका लागि २० लाख नगदको अनुमान गरिएको छ । प्रतियोगिताको विजेताले १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधाको उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने बताइएको छ।
नकआउटका आधारमा हुने प्रतियोगिताको खेल तालीका केहि दिन पछि सार्वजनिक गरिने आयोजकले बताएका छन् । पहिलो संस्करणको फिदिम भेट्रान्स कप फुटबलको उपाधि इलामले जितेको थियो ।