काठमाडौं । नेपालमा पूर्ण रूपमा प्रतिबन्धित अनलाइन बेटिङ प्लेटफर्म वनएक्स बेटमा करौडौं रुपैयाँ कारोबार गर्ने एक एजेन्ट पक्राउ परेका छन् ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ घर भइ हाल ललितपुर बस्ने ३७ वर्षीय सुनिल राई हालै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार वनएक्स बेटमा उनले ५५ करोड रुपैयाँ भन्दा बढीको कारोबार गरेको पाइएको छ । यसबारे चाँडै नै थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।
उनले क्रिप्टो करेन्सी ट्रेड गर्ने गरेको प्रहरीले जनाएको छ । साथै, बेटिङ एपमार्फत अनलाइन जुवा खेलाएको आरोप उनमा छ । राईले ७५ वटा बैंक खाता र १२८ वटा ई–सेवा वालेट प्रयोग गरी ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ बराबरको अनलाइन जुवा खेलाएको आरोप छ । उनले २५ भन्दा बढी इमेल अकाउन्ट खोली वान एक्स विटमा प्रयोग गर्ने गरेको खुल्न आएको छ ।