ताप्लेजुङ । गत जेठ ११ गतेदेखि उडान हुन नसकेको ताप्लेजुङको सुकेटार विमानस्थलमा बुधबार (भोलि) देखि उडान सुरु हुने भएको छ । नेपाल वायुसेवा निगमले उडान तालिका राखेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
निगम यतिबेला बुधबारका लागि यात्रुको खोजीमा रहेको छ । यात्रु भए र मौषमले साथ दिए उडान निश्चित भएको पौडेलले बताए । निगमले काठमाडौं–ताप्लेजुङ–काठमाडौं उडान गर्दै आएको छ । जेठ ११ गते अन्तिम उडान गरेको निगमले त्यसपछि सातामा एकदिन तालिका राखेपनि उडान भने गरेको छैन ।
यसअघि सोमबार, बुधबार र शनिबार गरी साताको तीन उडान गर्दै आएको थियो । मौसममा सुधार आएसँगै उडान गर्न सकिने वातावरण भएपछि तालिका राखिएको निगमको दाबी छ । गतवर्ष पनि असारदेखि स्थगित भएको उडान भदौदेखि सुरु गरेको थियो । लामो समय उडान नभएकाले काठमाडौंदेखि ताप्लेजुङ आउने र ताप्लेजुङदेखि काठमाडौं जाने यात्रु नभएको ताप्लेजुङ स्टेसनका कुमार गुरुङ बताउँछन् ।