काठमाडाैं । मङ्गलबार र बुधबार दुई दिन देशव्यापी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेकाे छ । सरकारले सम्भावित विपद्को जाेखिमबारे जानकारी दिन विभिन्न संयन्त्र सञ्चालन गरिरहेको छ ।
यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले हाइड्रोलोजी डट जीओभी डट एनपी नामको वेबसाइट उपयोगी हुन सक्छ । वेबसाइटमा रहेको ‘रेनफल वाच’ (Rainfall Watch) फिचरमार्फत देशका कुन-कुन ठाउँमा वर्षा भइरहेको छ तथा बाढी तथा पहिरोकाे जोखिमबारे जानकारी लिन सकिन्छ ।
‘रेनफल वाच’ अन्तर्गत विभिन्न क्षेत्रमा वर्षाको मात्रा ट्र्याक (अनुगमन) र रिपोर्ट गरिने विभागले जनाएको छ । यसले वर्षा सञ्चयको वास्तविक-समयकोडेटा प्रदान गरी बाढी र पहिरोको जोखिम मूल्याङ्कन गर्न मद्दत गर्ने विभागकाे भनाइ छ ।
यसबाट भारी वर्षाको कारण हुने सम्भावित खतराबारे बेलैमा सचेत हुन सकिने विभागले उल्लेख गरेकाे छ । साथै विभागले उच्च जोखिम क्षेत्रहरूमा यात्रा नगर्न र आवश्यक आपूर्तिहरूको व्यवस्थापन गर्न समेत सरोकारवालालाई अनुरोध गरेको छ ।
कहाँ-कहाँ खतरा छ भनेर अनलाइनबाटै कसरी थाहा पाउने ?
- सबैभन्दा पहिले जल तथा मौसम विज्ञान विभागकाे याे वेबसाइटमा जानुहाेस् ।
- त्यसपछि वेबसाइटमा रहेको मेनु ‘Rainfall Watch’ मा क्लिक गर्नुहोस् ।
- नयाँ खुल्ने पेजमा विभिन्न जिल्लामा वर्षाको ताजा अवस्था कस्ता छ भनेर विवरण देखाइएको छ । तालिकामा रातो रङमा देखाइएको विवरण अनुसार सम्बन्धित जिल्लाहरूमा बाढी तथा पहिरोको जोखिम छ भनेर बुझ्न सकिन्छ । साथै यसमा चेतावनी (Warning) समेत दिइन्छ ।
- त्यस्तै तालिकामा हरियो रङमा देखाइएको विवरणमार्फत सम्बन्धित ठाउँमा बाढी वा पहिरोको तत्काल जोखिम नभएको बुझ्न सकिन्छ ।
यससँगै देशभर हुने वर्षा, बाढी, पहिरोका सूचना वेबसाइट, फेसबुक पेज, एक्स ह्यान्डलबाट थाहा पाउन सकिन्छ ।
वेबसाइटबाट जानकारी पाउन यहाँ क्लिक गर्नुहाेस् । फेसबुक पेजबाट थाहा पाउन यहाँ र एक्स ह्यान्डलबाट थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।