झापा । झापाका विभिन्न स्थानबाट चोरी गरिएका मोटरसाइकल ताप्लेजुङमा लगेर बिक्री गर्ने गरेको खुलेको छ । चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने ३ जना फरार रहेका छन् ।
झापा प्रहरी फागुन ३ गते चोरी गिरोह आबद्धमा एक जनालाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले मोरङ मिक्लाजुङ गाउँपालिका ६ घर भई हाल बिर्तामोड ६ बुट्टाबारी बस्ने २७ वर्षीय योगेश मगर भन्ने बालकुमार मगरलाई पक्राउ गरेको हो।
बिर्तामोडबाट चोरी भएको प्र. १-०१-०१२ प ३५४७ नम्बर उल्लेख भएको २२० सिसीको कालो रातो पल्सर मोटरसाइकल बिक्री गर्न जाँदै गरेको अवस्थामा मगरलाई पाँचथर हिलिहाङ गाउँपालिका ५ बाट पक्राउ गरी झापा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए।
प्रहरीले उनलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। मगर पक्राउ परेसँगै उनले बिक्री गरेको आठ वटा मोटरसाइकलसमेत फेला परेको छ। सबै मोटरसाइकल ताप्लेजुङ जिल्लाको विभिन्न स्थानबाट फेला परेको एसपी केसीले बताए। गिरोहमा आबद्ध अझै तीन जना फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको उनले बताए।
झापाबाट चोरी भएका मोटरसाइकल ताप्लेजुङ लगेर ३५ देखि ५० हजार रुपैयाँसम्म बिक्री गर्ने गरेको मगर पक्राउ परेपछि प्रारम्भिक अनुसन्धानबाट खुलेको झापाका निमित्त प्रहरी प्रवक्ता ढुण्डिराज गिरीले जानकारी दिए। त्यहाँ मोटरसाइकल बिक्री गरेर मगरले रकम बिर्तामोडको आइएमइमा पठाउने र गिरोहका अन्य व्यक्तिले निकाल्ने अनुसन्धानबाट खुलेको उनको भनाइ छ।
अहिलेसम्म प्रहरीमा एक सय बढी मोटरसाइकल हराएको र चोरी भएको जाहेरी परेको बताउँदै प्रहरी निरीक्षक गिरीले भने, ‘यी गिरोहले बेचेका अरू पनि मोटरसाइकल फेला पर्न सक्छ, त्यसतर्फ प्रहरी लागिपरेको छ।’