इटहरी । इटहरी उपमहानगरपालिकाले आउँदो शैक्षिक सत्रदेखि उपमहानगरका सबै सामुदायिक र निजी विद्यालयका विद्यार्थीलाई टाईको साटो भादगाउँले टोपी अनिवार्य गरेको छ ।विद्यार्थीको पोसाकमा पनि एकरुपता लागू गर्ने भएको नगर प्रमुख हेमकर्ण पौडेलले जनाए । उनले नयाँ शैक्षिक सत्रका लागि अभिभावकले विद्यालय पोसाक खरिद गर्ने बेला इटहरी उपमहानगरले बिहीबार यस्तो निर्णय लिएको हो ।
इटहरी उपमहानगरमा १ सय ३४ निजी र ३६ सामुदायिक गरी १ सय ७० वटा विद्यालय छन् । आगामी वर्षदेखि करिब ६३ हजार ५ सय २६ विद्यार्थी एकै पोसाकमा देखिने छन् ।
‘इटहरीभित्रका निजी तथा सबै सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले एकैखालको पोसाक लगाउनुपर्ने गरी नियम बनाएका छौं,’ इटहरी उपमहानगरका नगर प्रमुख पौडेलले भने,’ विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउने निर्णय गरेको हो । अब इटहरीका विद्यालयमा टाइ देख्न पाइने छैन ।’
स्कुलहरुले ड्रेस पनि बढी मूल्यमा आफ्नै स्कुलबाट बिक्री गर्ने गरेका थिए, अब त्यो धन्धाको पनि अन्त्य हुने प्रमुख पौडेलले जनाए । उपमहानगरका कर्मचारी र जनप्रतिनिधिहरुको छोराछोरी अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने पनि निर्णय भएको छ ।
प्याप्सन ईटहरीका अध्यक्ष पुन्य सापकोटाले विद्यालय मातहतमा कुनै स्टेशनरी पसल राख्न पाइने छैन । ‘भर्ना शुल्कबापत एक पटक रकम लिएपछि सो विद्यालयमा पढ्ने विद्यार्थीबापत पटक-पटक कक्षा चड्दा भर्ना शुल्क लिन पाइने छैन,’ सापकोटाले भने ।
विद्यालय आफैँले किताब बेच्ने गरेको गुनासो बढेपछि इटहरी उपमहानगरले विद्यालय आफैले किताब बेच्न पनि नपाउने निर्णय गरेको छ । विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री-वितरण गर्न रोक लगाएको हो ।
बैठकमा जनप्रतिनिधि तथा नगर शिक्षा समितिका पदाधिकारीहरु सहभागी थिए ।