पाँचथर– पूर्वी पहाडी जिल्ला पाँचथरका विभिन्न ठाँउमा अहिले फुटवल प्रतियोगिताहरु भईरहेका छन् । यहाँमात्र होइन छिमेकी ताप्लेजुङ, तेह्थुम, इलामका गाँउ गाँउमा फुटवल प्रतियोगिता भईरहेका छन् ।
हिउँदलागेसँगै पहाडि जिल्लामा साना, मझौला र ठुला किसिमका फुटवल प्रतियोगिता हुने गरेका छन् । चाडबाडको समय पारेर वार्ड, पालिका, जिल्ला स्तरका प्रतियोगिता भईरहेका छन् । आमन्त्रण गोल्डकपमा छिमेकी भारतका टिमहरु पनि सहभागि छन् । हजारदेखि लाख रुपैँयासम्मका पुरस्कार भएका प्रतियोगिता भईरहेका छन् ।
‘गाँउ गाँउसम्म फुटवल प्रतियोगिता भईरहेका छन् । केहि प्रतियोगिता हुने तयारीमा छन् । यसले फुटवल क्षेत्रको विकासमा योगदान गर्छ’ जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तान भन्छन्, ‘फुटवल प्रतिको माया निक्क छ पूर्वी पहाडमा । यसलाई व्यवस्थीति गर्नकालागि राज्यले सहयोग गर्नु पर्छ ।’
चाडबाडमात्र नभई प्रतियोगिता आयोजना गरेर परम्परा धानिरहेका छन् । छिमिकि जिल्लाका खेलाडीहरु प्रतियोगितामा सहभागि हुन्छ । ग्रामिण क्षेत्रमा आयोजना हुने प्रतियोगितामा ठुलो संख्यामा टिमको सहभागिता रहन्छ । पाँचथरको जेभालेमा आयोजना भएको प्रतियागिता ३ दर्जन टिमको सहभागिता रहेको थियो ।
फुटवल हेर्न दर्शकको उल्लेख्य सहभागिता रहन्छ । अरु कार्यक्रममा भन्दा फुटबलमा आर्कषण छ ।
कतै प्रतियोगिता सकिएका छन् भने कतै हुने क्रममा छन् । दशैँ, तिहार, चासोक तङ्नाम लगायतका पर्वको अनुकुलता पारेका गाँउ गाँउमा फुटवल प्रतियोगिता भईरहेका छन् । यसले खेलाडीको व्यस्तता बढाएको छ । ‘लुकेर रहेका प्रतिभाको पहिचान गर्न सहज हुन्छ । गाँउ गाँउमा प्रतियोगिता लामो समयदेखि आयोजना भईरहेका छन्, तर पछिल्ला बर्षमा प्रतियोगिताको संख्या बढ्दै गएको पाईन्छ’ पूर्व खेलाडी टंक राई भन्छन्, ‘धेरैले मन पराउने, नियम बुझ्ने प्रतियोगिता भएकाले फूटवल प्रतिको आर्कषण निक्कै छ ।’
अब गाँउ गाँउमा बर्खा नलागिञ्जेलसम्म प्रतियोगिता हुन्छन् तर चाडबाडको बेलामा बढि प्रतियोगिता हुने गरेका छन् ।
सात जना खेल्न मिल्ने देखि ११ जना खेल्न मिल्ने खेलमैदानमा प्रतियोगिता भईरहेका छन् । जिल्लाकै पहिचान झल्काउने किसिमका ठुला प्रतियोगिताको पनि तयारी हुदैँ छ । ‘खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन समेत हुने लक्ष राखेका छौँ’ लालिखर्कमा जारी फुटवल प्रतियोगिताको आयोजक समितिका अध्यक्ष श्याम राई भन्छन् ‘युवाहरुलाई सृजनशिल बनाउन पनि प्रतियोगिताले सहयोग पुग्छ ।’
विभिन्न क्षेत्रबाट सहयोग संकलन गरेर प्रतियोगिता भईरहेको छ । विदेशमा बस्ने, स्वदेशका व्यवसायी तथा शुभचिन्तकले सहयोग गर्छन् । अहिले स्थानिय तहहरुले यस्ता प्रतियोगिताका लागि सहयोग गरिरहेका छन् ।
एकैदिन विभिन्न ठाँउमा प्रतियोगिता भईरहेको पाईन्छ । फुटवल प्रतियोगिताले सकारात्मक माहोल सृजना गर्ने शनिवारदेखि भईरहेको रानीटार गोल्डकपका आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष ललितमान फेजोङ बताउँछन् ।