झापा । दमक नगरपालिका वडा नम्बर १ निवासी डा. प्रज्वल कोइराला वेपत्ता भएको १० दिनमा मृत अवस्थामा फेला परेका छन्।
सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. २ को कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा माछा मार्ने मान्छेले लाश देखेर प्रहरीलाई खबर गरेपछि गएर हेर्दा डा. कोइरालाको फोटोसँग मिल्दोजुल्दो देखिएको विपद व्यवस्थापनमा समेत कार्य गर्दै आएका सुरक्षा वेश चतराका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए।
रोक्काका अनुसार मंगलबार अपरान्ह साढे ४ बजे तिर खबर आएपछि विपद व्यवस्थापनमा खटिने टोली लगेर शव ल्याउँदा ६ बजेको थियो।
परिवारका सदस्यले शवको पहिचान गरिसकेको र शव धरानको बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाइएको छ।
आज उनको शवको अन्त्येष्टि गरिने बताइएको छ।
डा. कोइराला अघिल्लो आइतवार बेलुकी ड्युटी सकेर हिँडेका थिए। वेपत्ता भएको भोलिपल्ट भदौ ११ गते भने उनको सवारी-साधन चतराको पुलपारि बिहान फेला परेको थियो।
प्रेम सम्बन्ध असफल हुने भएपछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।