ताप्लेजुङ । डिफेण्डिङ च्याम्पियन रेडस्टार फुटबल क्लब बिर्तामोड झापालाई ट्राईबेकरमा ५–४ ले हराउँदै रेडहर्ष फुटबल क्लब इलाम ताप्लेजुङ गोल्डकपको उपाधि नजिक पुगेको छ।
अब रेडहर्षले बुधबार जुट विकास फुटबल एकेडेमी इटहरीसँग उपाधि भिडन्त गर्ने छ। ट्राईबेकरमा रेडहर्षका विशाल लामा, आशिष् लाओती, पिकेश लोक्ताम, छिरिङ गुरुङ र विवेक मगरले गरेका ५ वटै प्रहारले जाली चुमेका थिए।
रेडस्टार फुटबल क्लबका मिलन राई गोल गर्न चुके। निशान लिम्बू, जीवन गुरुङ, मिलन राई र मनोज राईको प्रहार भने गोलमा परिणत भएको थियो। दुई विदेशी खेलाडी ग्लोरी र अब्दुल सहित फाइनल यात्राका लागि रेडहर्ष इलामसँग भिडेको रेडस्टारले सेमिफाइनलमै आफ्नो खेललाई पूर्ण बिराम लगाएको छ।
यसअघि निर्धारित अवधिको खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए। मध्यान्तर अघि रेडहर्षका लागि आशिष् राईले प्रि–किकमार्फत गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। १–० को अग्रता बनाएको रेडहर्ष त्यसपछिको खेलमा निकै आक्रामक देखियो। एकपछि अर्को प्रहार गरेको रेडहर्ष थप गोल गर्नबाट भने चुक्यो।
मध्यान्तर हुनु अघिको खेलमा विपक्षी टिमविरुद्ध आक्रामक भई खेलेको रेडस्टारका आशिष् चापागाईँका दुई प्रहार गोलविहीन खेर गए। ग्लोरीको प्रहार रेडहर्षका गोलरक्षक विवेक मगरले बचाए। मध्यान्तर पछिको खेलमा निकै मेहनेत लगाएर रेडस्टारले पासको लय मिलाउँदै आक्रामक खेल खेल्यो।
निर्धारित समयको खेल सकिन ५ मिनेट बाँकी रहँदा अब्दुलले बराबरी गोल गर्दै रेडस्टारलाई खेलमा फर्काए। त्यसपछि रेहडर्ष दबाबमा पर्यो। तर दुवै टिमले थप गोल गरेनन् र खेल ट्राईबेकरतर्फ धकेलिएको थियो। रेडहर्ष र रेडस्टार दुवै टिममा नेपाली राष्ट्रिय फुटबल राष्ट्रिय टिममा यसअघि आबद्ध भइसकेका, डिभिजन लिग खेलेका र अनुभवी खेलाडीको सहभागिता थियो। बुधबार सकिने प्रतियोगिताका बिजेताले ३ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपबिजेता हुनेले नगद १ लाख ५१ हजार १ सय ११ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्।
फाइनल खेलका जनही २ सय ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिए पनि दर्शकको माग अनुसार जनही २ सय मात्र निर्धारण गरिएको आयोजक लाखेजात्रा सञ्चालन समितिका सचिव टिकेन्द्र नेपालीले जानकारी दिएका छन्। सेमिफाइनलका दुई खेलका लागि जनही २ सय रुपैयाँ र क्वाटर फाईनलका ४ खेलमा प्रवेश शुल्क जनही १ सय रुपैयाँ थियो।