झापा । गतसाता भद्रपुरको एक झाडीमा नवजात शिशु फालेर फरार हुनेहरूको खोजी र अनुसन्धानमा जुटेको झापा प्रहरी पहिचान नजिक पुगेको छ । स्थानीय सिसिटिभी फुटेजका आधारमा शिशुलाई झाडीमा फाल्ने युवायुवतीको पहिचान खुल्न लागेको हो ।
गत भदौ १२ गते मंगलबार साँझ ७ बजेर २३ मिनेटमा दुई युवायुवतीले शिशु झाडीमा फालेको सिसिटिभीमा देखिएको छ । आकाशे रङ्गको कुर्ता र पाइन्ट लगाएकी अन्दाजी १७-१८ वर्षकी युवती र कालो सेतो चेक सर्ट र पाइन्ट लगाएको, पछाडि ब्याग भिरेको अन्दाजी २२-२३ वर्षको युवाले ती शिशुलाई सँगै बोकेर ल्याउँदै गरेको किरात कोलोनी भवन छेउको घरमा रहेको सिसिटिभी फुटेजमा हेर्न सकिन्छ ।
शिशु बोकेर सँगै आउँदै गरेका उनीहरूलाई स्थानीय मनिका गिरीले पनि देखेकी थिइन् । युवाले ती शिशुलाई अप्ठ्यारो गरी बोक्दा गिरीले कसरी नानी बोक्नु भएको ? भनेर सोधेको स्थानीय परी खवासले जानकारी दिइन् । सिसिटिभीको फुटेज हेर्दा शिशु फाल्नेहरू नजिकका नभएको अनुमान गरिएको छ ।
शिशुलाई लगाइदिएको बाक्लो खालको टोपी, मोजा, पन्जाबाट ती शिशु गर्मी ठाउँको नभएर पहाडी क्षेत्रको हुनसक्ने अनुमान पनि गरिएको छ । अनैतिक सम्बन्धबाट जन्मिएको वा कसैले अह्राएर ती युवायुवतीले शिशु फालेको हुनसक्ने स्थानीय परी खवासले अनुमान गरेकी छन् ।
सिसिटिभी फुटेजका बारेमा प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताएका छन् । उनले वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षकलाई त्यस सिसिटिभी हेर्न पठाएको जानकारी दिए । सिसिटिभी मधुरो भएकाले स्पष्ट रुपमा ती युवा युवतीलाई पहिचान गर्न गाह्रो भएको डीएसपी रिजालको भनाइ छ ।