ताप्लेजुङ । ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपमा पाँचथरको फिदिम स्पोर्टिङ क्लब मोरङको पथरी ११ सँग पहिलो खेलमै पराजित भएको छ । शनिबार भएको खेलमा मोरङको पथरी ११ एफसीले यहाँ जारी प्रथम ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई २-० गोलले पराजित गर्दै पथरी सेमिफाइनलमा प्रवेश गरेको हो । स्थानीय भानुजन माविको खेलमैदानमा शनिबार भएको तेस्रो क्वाटरफाइनल खेलमा पथरीको जितका लागि अनुभवी खेलाडी दिपक राईले खेलको ३८औँ मिनेटमा गोल गरेर अग्रता दिलाएका थिए ।
दोस्रो हाफको पाँचौ मिनेटमा निरज परियारले गोल गर्दै पथरीका लागि अग्रता दोब्बर बनाए । खेलको म्यान अफ दी म्याच पथरीका निरज परियार घोषित भए । उनले नगद ५ हजार पाए । आइबार झापा बिर्तामोडको रेडस्टार एफसीले पाहुना टोली युकेएफसी दार्जीलिङसँग अन्तिम क्वाटरफाइनल खेल्नेछ ।
लाखेजात्रा सञ्चालन समिति र जिल्ला फुटबल संघ ताप्लेजुङको संयुक्त आयोजनामा भएको प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद तीन लाख ११ हजार १११ र एक लाख ५१ हजार १११ सहित ट्रफी पाउनेछ ।