काठमाण्डाैं । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले बिहान काेशी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसाे देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।