काठमाडौँ । सरकारले कोशी प्रदेशस्थित तेह्रथुमको चुहानडाँडा विमानस्थल निर्माण अघि बढाउने भएको छ। उता कर्णालीको कालिकोटमा निर्मित सुनथराली विमानस्थलको उद्घाटन गर्न लागिएको छ।
यही भदौमै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कालिकोटको सुनथराली विमानस्थल उद्घाटन गर्ने तयारी गरेको हो। यता वन मन्त्रालयले तेह्रथुमको चुहानडाँडा विमानस्थल आयोजनाका लागि वातावरण मुल्यांकन प्रतिवेदन तयार गरिसकेको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रस्ताव गरेको विमानस्थल आठराई गाउँपालिका चुहानडाँडामा बन्ने गरी अध्ययन गरेको हो।
चुहानडाँडा विमानस्थल आन्तरिक जहाज उडान र अवतरणका लागि निर्माण तथा सञ्चालन हुनेछ। आयोजनास्थल समुद्री सतहबाट १४ सय ५० मिटरको उचाइमा छ। प्याक्ट कन्सल्टेन्ट प्रालिले यसको वातावरणीय प्रभाव मूल्यांकनको अध्ययन गरेको थियो।
विमानस्थलको धावनमार्ग उत्तर–पश्चिमदेखि दक्षिण–पूर्वमा ६४० मिटर लम्बाई र २० मिटर चौडाईको हुने छ। ट्याक्सी मार्ग ३० मिटर लम्बाई र १५ मिटर चौडाई छ। एप्रोन ६० मिटर लम्बाई र ३० मिटर चौडाईको छ। विमानस्थलमा टर्मिनल भवन, स्टाफ क्वाटर, पुलिस कक्ष, कार्गो भवन, पार्किङ लगायतका संरचना बन्ने छन्।
त्यहाँ २ वटा जहाजसम्म पार्किङ गर्न सकिने छ। सवारी पार्किङका लागि १५ सय वर्गमिटर क्षेत्रफल तोकिएको छ। डिएचसी–६ ट्वीनअट्टर, लेट ४१०, डोरनियर २२८ वा त्यससरहका विमान यहाँ सञ्चालन हुने छन्। छोटो धावनमार्गमा उडान तथा अवरतण गर्न मिल्ने (स्टोल) विमानस्थलको रुपमा निर्माण गरिने छ।
सुकेटार विमानस्थल ११ न्युटन माइल, चन्द्रगढी विमानस्थल ४१ न्युटन मिटर, विराटनगर विमानस्थल ४७ न्युटन मिटर र काठमाडौंको १२९ न्युटन मिटरको दूरीमा छन्।