सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका सबै ढोका खोलिएका छन् भने खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। पूर्वी पहाडी जिल्लामा लगातार वर्षा भइरहेकाले सप्तकोसी नदीमा पानीको बहाव बढेको हो।
सप्तकोसी नदीमा शुक्रबार राति ११ बजे पानीको बहाव बढेर प्रतिसेकेण्ड ४ लाख १८ हजार २० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए ।
उनले सप्तकोसीमा पानीको बहाव बढेपछि आसापासका बासिन्दालाई सतर्क रहन र यस क्षेत्रको शान्ति सुरक्षाको लागि प्रहरी परिचालन गरेर उच्च सर्तकता अपनाइएको बताए।
सप्तकोसीमा पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार कटेपछि खतरा मानिन्छ। सप्तकोसीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनको अनुरोधमा भारतले कोसी ब्यारेजका सबै ढोका खोलेको हो।
कासी व्यारेजका सबै ढोका खोलेका कारण कोसी प्रभावित क्षेत्रमा कुनै खतरा नभएको डीएसपी राईले बताए। पूर्वपश्चिम राजमार्गमा चल्ने सवारीसाधनलाई समेत सावधानीपूर्वक सञ्चालन गरिएको उनले बताए।