झापा । मदिरा सेवन गरेका युवाको मोटरसाइकल रोक्दा इलाका प्रहरी कार्यालय झिलझिले झापाका इन्चार्जमाथि आक्रमण भएको छ । प्रहरी निरीक्षक युवराज कटुवालमाथि बिहीबार साँझ बन्चरो प्रहार भएको हो ।
सादा पोसाकमा रहेका कटुवालले शिवसताक्षी नगरपालिका ९ स्थित सडकमा तीन जना सवार मे ४ प २७५१ नम्बरको अनियन्त्रित मोटरसाइकल रोकेका थिए ।
मोटरसाइकलमा पछाडि सवार ३६ वर्षीय अशोक पोखरेलले उनलाई बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ । टाउको र हातमा चोट लागेका कटुवालको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
कटुवालको टाउकोमा २ ठाउँमा चोट लागेको छ । उनको अवस्था बोल्नसक्ने, मध्यम रहेको छ । टाउकोमा ८ टाँका र हातको औलामा ३ टाँका लगाइएको छ ।
बन्चरो प्रहार गर्ने पोखरेल, मोटरसाइकल चालक ३२ वर्षीय अरुण तामाङ र पछाडि सवार ३३ वर्षीय लक्ष्मण टुडुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।