काठमाण्डाैं । नेपालमा डेंगी संक्रमितको संख्या १६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार सन् २०२३ सुरु भएयता १६ हजार २६७ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, डेंगी संक्रमणबाट अहिलेसम्म १२ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये ११ जना सुनसरीको धरान उपमहानगरपालिकाका छन् ।
यो वर्ष डेंगीको संक्रमणबाट सबैभन्दा धेरै धरान प्रभावित भएको पाइएको छ । आइतबारसम्म धरानमा १२ हजार ७८१ जनामा संक्रमण पुष्टि भएको छ । डेंगी संक्रमणको ‘हट स्पट’ बनेको धरानमा केही दिनयता संक्रमण कम हुँदै गएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता बताउँछन् ।
‘केहीअगाडि निकै उग्र रूप लिएको संक्रमण अहिले केही घटेको छ । उपचार केन्द्रमा बिरामीको चाप पनि घट्दै गएको छ,’ उनले भने । केही हप्ताअघि तीव्र रूपमा फैलिएको संक्रमणका कारण धरानमा बेड अभाव हुँदा बिरामीलाई भुईंमा राखेरसमेत उपचार गरिएको थियो । तर, अहिले बिरामीलाई भुईंमै राखेर उपचार गर्नुपर्ने अवस्था भने नभएको मेहताको भनाइ छ ।
‘संक्रमण कम हुँदै गए पनि पूरै निर्मूल भने भइसकेको छैन । डेंगीलाई पूर्ण रूपमा नियन्त्रण गर्न अझै केही समय लाग्ने देखिन्छ । र, असोज महिनासम्म संक्रमण यस्तै अवस्थामा जाने देखिन्छ,’ उनले भने ।
तर, अहिले नै संक्रमण कति फैलिन सक्छ वा कहिलेसम्म रहन्छ भन्न सक्ने अवस्था नभएको कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन् । ‘पानी परिरहेको छ । यो अवस्थामा लामखुट्टेको ‘खोज तथा नष्ट’ गर्ने काम कति प्रभावकारी हुन्छ, त्यसमा भर पर्छ,’ दाहालले भने ।
‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न आग्रह
केही दिनअघि मात्रै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेंगीको संक्रमण बढ्दै गएपछि सबै अस्पताललाई डेंगी संक्रमणको उपचार प्रभावकारी पार्न निर्देशन दिएको छ । दैनिक डेंगीको संक्रमण बढिरहेकाले संघीय अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई महाशाखाले आवश्यकताअनुसार ‘ज्वरो क्लिनिक’ सञ्चालन गर्न सबैलाई आग्रह गरेको थियो ।
धरानमा उपमहानगरपालिकाले भने धरानमा डेंगी संक्रमण व्यापक रूपमा फैलिँदै गर्दा आठवटा क्लिनिक सञ्चालन गर्दै आइरहेको छ । जहाँ चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी राखेर निःशुल्क उपचार भइरहेको छ । नेपालमा सन् २००४ डेंगी पहिलोपटक देखिएको थियो । त्यसयता डेंगीको संक्रमण देखिँदै आएको भए पनि सन् २०२२ मा सबैभन्दा धेरै ५४ हजार ७८४ मा डेंगी संक्रमण पुष्टि भएको थियो ।