धरान । पाँचथर, रानीगाउँ हङ्थुवाका माइतबल लिम्बु घर छोडेर हिँड्दा २० वर्षका थिए। एक जना गाउँले साथीसँग मेची खोला कटेर कोइलाखानी (असम) भारत भासिएका उनी त्यसयता कहिल्यै जन्मभूमिमा पाइला टेकेनन्।
उनी रानी गाउँका वीरबहादुर र कान्छीमायाका ८ सन्तान (४ छोरा, ४ छोरी) मध्ये जेठो थिए। उनी घर छोडेर हिँडे पछि सम्पर्कविहीन भए पनि भाइहरूलाई कहीँ कतै छ भन्ने आशा जीवितै थियो।
असमबाट गाउँ आउजाउ गर्ने व्यक्तिहरूले माइतबल जीवितै भएको खबर पनि दिए, तर सम्पर्कमा आउन सकेनन्। घर छोडेर हिँडेको ६० वर्षपछि भने माइतबल मातृभूमिमा पाइला टेके, तर उनले भारतमा रहँदा आफ्नो नाम फेरेर जयबहादुर भएका रहेछन्।
माइतबल उर्फ जयबहादुरको शनिबार धरानमा माइला भाई पदमप्रसाद (७६ वर्ष), साहिला भाई गमबहादुर (७४ वर्ष) र कान्छी बहिनी सुकमायासँग एक साथ भेट भयो। साहिला भाई र कान्छी बहिनीसँग झण्डै एक महिनाअघि नै भेट भइसकेको भएपनि माइला भाई पदमप्रसादसँग पहिलो चोटि शनिबार उनको भेट भयो। दुवैले हेराहेर गरे, हाँसे पनि। जेठा दाईलाई निरन्तर खोजी गरेर भारतमा छन् भन्ने पत्ता लगाउने माइला भाई पदमप्रसाद नै हुन्। तर, उनी बेलायतमा भएको कारण भेट ढिलाइ भएको थियो।
‘मैले नै दाई जीवितै छ भनेर सोधखोज गरिरहे। उ एक महिना अघि नै आउँदा चैँ बेलायतमा थिएँ, त्यसैले आजै हो भेट भएको, ’माइला पदमप्रसादले भने, ‘१९, २० सालतिर गएपछि दाई फर्किएनन्। हामी त माइतबल भन्थ्यौं, उता चैँ नाम फेरेर जयबहादुर भनेर बसेछ। हामीले खोज्दा माइतबल भनेर खोज्छौं, उता अर्कै नाम थिएछ।’ लामो सोधी खोजी पछि जेठा दाई असममा छन् भन्ने थाह भएपनि भेट हुन भने नसकेको उनले बताए। ‘दाई पनि यता आएनन्, हामी पनि उता जानै सकेनौँ,’ उनले थपे।
बिरामी कान्छा भाईले जेठा दाजु भेट्ने तीव्र इच्छा गरे पनि मात्र यसपाली जयबहादुर मातृभूमि आएका थिए। क्यान्सरसँग जुधिरहेका कान्छा भाई उनी आएको १८ दिनमा नै बिते। तीन दाजुभाईले जेठा दाईलाई पुर्ख्यौली सम्पत्ति जग्गाजमिन छुट्याएर राखिदिएका थिए, त्यसैले कान्छा भाईले दाईको नागरिकता पनि बनाइदिने भनेर बोलाएपछि उनी आएका हुन्। तर कान्छा भाई नै बितेपछि नागरिकता बनाउने योजना पनि अन्योलमा छ।
‘म २० बर्षको हुँदा अचानक घरबाट भारत हिँडे। असम, अरुणाञ्चलतिर कता कता पुगे। उतै घरबार भयो, यता त बिर्सी पो हाले, ’जेठा जयबहादुरले भने, ‘२ वर्ष मात्र भयो, फोनमा माइला भाइसँग बातचित भएको। कान्छा भाई साह्रो बिरामी छ भन्ने खबर पुगेर आएको थिएँ, म आएको १८ दिनमै भाई बित्यो।’
यता रानी गाउँमा पनि जयबहादुरको १९ बर्षको उमेरमा बिहे भएको थियो। उनी घर छोडेर हिँडेको लामो समय नफर्के पछि श्रीमती पनि हिँडिन्। असममा बिहे गरेकी श्रीमती पनि गत चैतमा बितेको जयबहादुरले बताए। उनका २ भाई छोरा र एक बहिनी छोरी छिन्।
‘यतै बसौँ भन्ने त लाग्छ, तर घर व्यवहार उतै छ, ’उनले भने, ‘फर्कने बेला भैगयो।’ अहिले असममा बसाई र अरुणाञ्चलमा खेती गर्ने गरेको पनि उनले सुनाए। जन्म गाउँ ९पाँचथर रानीगाउँ० पुग्दा मान्छेहरु सहर तिर धमाधम बसाई सरेको देखेपछि उनलाई लाग्यो, ‘गाउँमा घरघरमा गाडी त पुगेछ, तर छोराछोरी राम्रो पढाउन भनेर सबै सहर झर्दैछन्, गाउँ त चाडै तित्तिदैछ।’
बाध्यताले फेरि भारत फर्कन लागेका जयबहादुर नेपालमै बसे हुन्थ्यो भन्ने उनका भाई बहिनीलाई लाग्छ।
‘दाजु हिँडेदेखि नै कति खोज्यौं, बल्ल भेटियो। यतै बसोस् भन्ने लाग्छ,’ झापा झिलझिले बस्दै आएका साहिला भाई गमबहादुरले भने, ‘कुनै दिन दाजु फर्केला भनेर नै जग्गाजमिन छुट्याएर राखिदिएका छौं। भोली भारतबाट खेदिनु पर्यो भने त्यतिबेला आफ्नो बाउ बाजेको सम्पत्ति सम्झिनुपर्छ, छोरा नातिले पनि सम्झिएर आउनुपर्छ।’
माइला भाई (पदमप्रसाद) का छोरा गणेश लिम्बु आफ्नो बुबाको अथक प्रयासपछि बडा बासँग भेट हुन पाएकोमा खुसी छन्। बुबा, काका र फुपूको बडा बासँगको माया, स्नेह देखेर गदगद भएका उनी बडा ९जयबहादुर० को नागरिकता बनाउन हर सम्भव प्रयत्न गर्ने बताउँछन्।
‘आखिर उहाँ नेपालमै जन्मिनुभएको हो, यतिका वर्षपछि भेट्दा ज्यादै खुसी छौं। उहाँको नागरिकता हामी बनाइदिन्छौ,’ उनले भने।