पाँचथर । डेंगु नियन्त्रणका लागि फिदिम नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान थालेको छ । नगरपालिकामा डेंगुका बिरामी देखा पर्न थालेपछि नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने अभियान सुरु गरेको हो ।
फिदिम नगरपालिकाले जिल्लाका बिभिन्न संघ संस्थाहरुको सहकार्यमा आइतबार फिदिम बजारमा र्यालीसहित खाल्डाखुल्डीमा जमेको पानी पोखाएको छ । जमेको पानीमा डेंगु सार्ने लामखुट्टेको लार्भा हुर्कने भएकाले खुला ठाउँमा रहेको पानी हटाउने र सो पानीमा हुर्कँदै गरेको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको फिदिम नगरपालिकाले जनाएको छ ।
१४ वडा रहेको नगरपालिकामा २,४ जनालाई डेंगु संक्रमण पुष्टि भइसकेको छ । डेंगु नियन्त्रणका लागि क्रमशः संक्रमितकै घरमा पुगेर घर वरपर खुला ठाउँमा जमेको पानी र डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएकाे फिदिम नगरपालिकाले जनाएको छ ।
डेङ्गी एडिज जातको संक्रमित लामखुट्टेले मान्छेलाई यो रोग सार्ने भएकोले यसबाट बच्नु नै सबैभन्दा भरपर्दो उपाय हुने स्वास्थ्यकर्मीहरूले बताएका छन ।
फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्ले भन्छन्, ‘डेङ्गी नियन्त्रणका लागि निदानात्मक, उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरेका छौँ।’ घरदैलो कार्यक्रममा पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फुलदानी, कुलर, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँको सरसफाइ गर्न सिकाइने फिदिम नगरपालिकाले जनाएको छ।
विशेषगरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, गमला, पानीका ट्याङ्की आदिमा लामखुट्टे फूल पार्ने गरेको स्वास्थ्यकर्मीहरु बताउछन् । सहरी क्षेत्रमा यस्ता वस्तु थुप्रै हुने भएकाले पनि यसको बढी जोखिम रहेको फिदिम नगरपालिका आसपासका क्षेत्रमा सरसफाइका साथै पानी जम्ने ठाउँमा लार्भा नष्ट गर्ने अभियान थालनी गरिएको जनाइएको छ ।
उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गीका लक्षण हुन् । जटिल प्रकृतिको डेंगुको सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, सास फेर्न गाह्रो हुने, पेट र खुट्टा सुनिनेस्ता लक्षण देखापर्ने गरेको जानकारहरु बताउछन् ।