काठमाडौँ । देशभरको मौसममा आज सामान्य बदली रहने जल तथा मौसम विभागले जनाएको छ । देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन रचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।
काठमाडौंको बूढानीलकण्ठ, जितपुर र आसपासका क्षेत्रमा आज बिहान भारी वर्षा भएकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । बिहानै आपतकालीन सन्देश पठाउँदै विभागले विष्णुमती नदी गोङ्गबुमा जलसतह सतर्कता नजिक पुगेको जनाएको छ ।
विष्णुमती, इच्छुमती, धोबीखोला तटीय क्षेत्रकाे खोला किनारको सडक र बस्तीमा बाढी पस्न सक्ने सम्भावना रहेकोले बिहान ७ बजे सम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।