पाँचथर । नेपालमा हाल मनसुनी वायुका साथै बंगालको खाडीको उत्तर पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आज राति देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख छ ।