काठमाण्डाैं । बदलिँदो मोसमसँगै तराईका धरैजसो ठाउँ विशेषगरी जनकपुर, सिरहा, राजविराज, वीरगञ्ज, भरतपुर, विराटनगर, धरान, दमक आदि ठाउँमा लामखुट्टेको प्रभाव बढ्दै गइरहेको छ। मलेरिया, डेंगु, चिकेनगोनिया बालबालिकामा पनि देखिने गरेको छ। आज-भोलि ज्वरोका साथ आउने धेरैजसो बालबालिकामा डेंगु जाँच गर्दा पोजेटिभ देखिन्छ।
के हो डेंगु?
भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ। यो डेंगु भाइरसको संक्रमणले गर्दा लाग्ने रोग हो। यसमा जटिल समस्याहरु पनि देखिने सम्भावना हुन्छ।
डेंगु ज्वरोका तीन अवस्था
१. साधारण डेंगु ज्वरो
२. डेंगु हेमोरेजिक ज्वरो
३. डेंगु सक सिन्ड्रोम
हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ। सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित भएमा नियन्त्रण गर्न गाह्रो हुन्छ। यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्युसमेत हुनसक्छ।
डेंगु रोग मानिसबाट मानिसमा सोझै सर्दैन र सबै खालका लामखुट्टेले यसलाई सार्दैन। डेंगु ज्वरो लागेको बिरामीलाई टोक्दा यसको भाइरस लामखुट्टेमा सर्नेगर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छन्। डेंगु भाइरस एडिज लामखट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ। यो ग्रामीणमा भन्दा शहरी क्षेत्रमा बढी पाइन्छ। डेंगु भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन्।
डेंगुका लक्षणहरू केके हुन्?
सामान्यतया डेंगु भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन्। यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन्। यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्न सक्छ।
डेंगुको उपचार र बच्ने उपाय के हो?
डेंगु भाइरसलाई सार्ने लामखुट्टेको नियन्त्रण गर्ने र त्यसको टोकाइबाट बच्ने नै प्रमुख उपाय हो। सुत्ने बेलामा झुल लगाएर सुत्ने, घर वरिपरि सफा राख्ने, फोहोर पानी जम्न नदिने, हातखुट्टा छोप्ने गरी कपडा लगाउने, घर वरिपरि लामखुट्टे मार्ने औषधिहरु छर्ने गर्नुपर्छ।
त्यस्तै सरकारी स्तरमा गाँउ-शहरमा फोहर जम्न सक्ने खाल्डोहरु पुर्ने, लामखुट्टे मार्ने औषधिहरु छर्ने गर्नुपर्छ। आइब्रुफेन, डाइक्लोफिनाक, एस्प्रिन आदि सेवन गर्नुहुँदैन। चिकित्सकीय सल्लाहपछि मात्र यस्ता ज्वरो र दुखाइ नाशक औषधि उपयोग गर्नुपर्छ।