इलाम । इलामका प्रहरी प्रमुख एसपी दिलीप घिमिरे एक साँझ मोबाइलमा सामाजिक सञ्जाल चलाइरहेका थिए। अकास्मात् उनको नजर एउटा समाचारमा प¥यो। समाचारको विषय थियो–काभ्रेको एउटा सहकारीमा डाकाचोरी।
उनले समाचार पढे। अलिदिन अघि इलामकै माई नगरपालिकाको एक सहकारीमा डाकाचोरी भएको घटनाको प्रकृति र समाचारमा लेखिएको सहकारीमा चोरीको प्रकृति ठ्याक्कै उस्तै मिल्यो। उनी अझ अघि बढे। माई नगरको सहकारीमा डाकाचोरी हुँदा चोरी गर्नेले जसरी तयारी गरेको छ, जसरी चोरी गरेको छ र जसरी सुरक्षित भएर भागेको छ, समाचारमा उनले क्रमसः त्यही पाए। अब, उनलाई केही दिनदेखि ‘टाउको दुखाइ’ बनिरहेको चोरी गर्नेहरू पत्ता लगाउने चुनौतीमा ‘राहत’ मिल्यो। काभ्रे प्रहरीमा सम्पर्क गरे। सोधीखोजी गर्दा दुवै ठाउँका सहकारी चोरी गराइको प्रकृति मिल्यो। चोरी आरोपमा १ जना काभ्रे प्रहरीमा पक्राउ परेको पनि थाहा पाए उनले।
तत्कालै उनले इन्स्पेक्टर प्रदीप सुवेदीको कमान्डमा एक टोली काभ्रे प्रहरीमा पठाए। काभ्रेमा भएका सहकारी चोरीका घटनाको प्रकृति र दानाबारीको सहकारीमा भएको घटनाको प्रकृति मिलेकै पुष्टि भयो। त्यसपछि इन्स्पेक्टर प्रदीपले पक्राउ आरोपीलाई इलामै लिएर आए। ‘अनुसन्धान गर्दा सबैथोक मिल्यो, आरोपीले दानाबारीको सहकारीको डाकाचोरी आफूहरूले नै गरेको स्वीकारेका छन्,’ एसपी घिमिरेले भने, ‘दानबारीको सहकारीमा डाकाचोरी गर्ने ४ मध्ये १ जना उनी नै रहेछन्।’ काभ्रेबाट ल्याइएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का २५ वर्षे राजु भनिने अमृत थिङलाई अनुसन्धानपछि प्रहरीले उतै पठायो।
प्रहरीका अनुसार गत वैशाख १२ गते राति करिब पौने १२ बजे माई नगरपालिका–४, शुक्रबारे बजारमा रहेको साना किसान महिला कृषि सहकारीमा डाकाचोरी भयो। सहकारीको २७ लाख ७१ हजार ५ सय ६५ रुपैयाँ ‘सेफ’ फुटाएर लगियो। झोलामा पैसा हालिसकेपछि उनीहरूले सिसी क्यामेराको हार्ड ड्राइभ उठाएर लैजान खोजेका थिए तर उनीहरूले लगेको डिभाइस चाहिँ वाइफाइको राउटर र टेलिफोनको पब्लिक एड्रेस (पिए) बक्स प¥यो। सिसी क्यामेराको रेकर्ड प्रहरीले फेला पा¥यो।
सिसी क्यामेराको रेकर्ड अनुसार सहकारीको ढोका ग्याँस गनले काटेको र फलामको रड प्रयोग गरेको देखियो। ‘डाकाचोरीमा संलग्न देखिएका ४ जनाले सेतो पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई), टाउकामा फेटा, अनुहारमा मास्क र हातमा पञ्जा लगाएको देखियो,’ इन्स्पेक्टर सुवेदीले भने, ‘केही समयअघि उनीहरूले दानाबारी नै आएर सहकारीको चोरी तयारी गरेजस्तो देखिन्छ, यो भेगका अन्य सहकारीसमेत डाकाचोरीको तयारी गर्न खोजेको आशंका छ।’
डाकाचोरी गर्नेहरू काठमाडौंबाट दानाबारी आएर घटना भएपछि त्यसैदिन काठमाडौं पुगेको तर केही समयपछि उनीहरू इलाम बजारसमेत आएको इन्स्पेक्टर सुवेदीले बताए। प्रहरीले दानबारीको डाकाचोरीमा संलग्न थिङबाहेक मकवानपुरका २ र सिन्धुपाल्चोकका १ जनाको खोजी भइरहेको जनाएको छ। यसअघि प्रहरीले माई नगरपालिकाकै एकजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो। तर, घटनामा उनी संलग्न नपाएपछि १ दिनपछि छाडिदिएको थियो।
दानाबारीको डाकाचोरीमा संलग्नले पिपिईदेखि पञ्जा र मास्कसम्म लगाएकाले प्रहरीलाई उनीहरूको पहिचान गर्न निकै चुनौती थियो। ‘अनुहार, शारीरिक अवस्था लगायत केही पत्ता लगाउन नसकिने अवस्था रहेकाले हामीलाई यो घटना अनुसन्धान गर्न गाह«ो पर्छ भन्ने नै थियो,’ एसपी घिमिरे भन्छन्, ‘पेसेबेर गिरोह नै हो कि भन्नेसम्म शंका थियो तर पत्ता लगाउने कुनै बाटो थिएन। तर, त्यहीबेला एउटा समाचारले आँखा खोलिदियो।’
काभ्रे र इलाममा गरिएको प्रहरी अनुसन्धानमा थिङसहितको गिरोह नै देशका विभिन्न स्थानका सहकारीको योजनाबद्ध डाकाचोरीमा संलग्न पाइएको छ। ‘अनुसन्धान गर्दैजाँदा देशका करिब १० सहकारी एउटै प्रकृतिमा चोरी भएको पत्ता लागेपछि गिरोह यही रहेछ भन्ने निष्कर्षमा छौं,’ एसपी घिमिरेले भने, ‘उनीहरूको काम चाहिँ सहकारीमात्रै लुट्ने रहेछ, अरूमा हात हालेको देखिँदैन । घटनामा दाजु–भाइसमेत संलग्न रहेछन् ।’ उनले १० जनाको उनीहरूको समूह एउटै सहकारी चोरीमा नगइ अरूसमेत थपेर ४÷५ जनाको बेग्लाबेग्लै समूह बनाएर जानेगरेको बताए।
सहकारी डाकाचोरीमा संलग्नहरू पटक–पटक विभिन्न मुद्दामा जेल परेर छुुटिसकेका मानिस रहेको प्रहरीले जनाएको छ। थिङ यस्तै मुद्दामा ४ वर्ष जेल बसेर गत असोजमा ललितपुरबाट छुटेका व्यक्ति हुन्। ‘उनीहरू मकवानपुरमा बस्दारहेछन्, देशैभरि कार्यक्षेत्र बनाएका रहेछन्,’ एसपी घिरिमेले भने, ‘दानाबारीको घटना उनीहरूबाटै भएको हो भन्नेमा अब हामी कन्फर्म छौं।’