काठमाडौं । लाइसेन्स बनाइदिने, ट्रायल पास गरिदिने भन्दै सर्वसाधारणलाई ठगी गर्ने गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर एकान्तकुनाका ३० वर्षीय राजु परियार रहेका छन् । त्यस्तै परियारले पीडितलाई ठगी गरेर लिएको सुन खरिद गरी ढिक्का बनाएर राख्ने कृष्ण ज्वेलर्स एण्ड सन्सका सञ्चालक ब्रम्हा रिसाल समेत पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा गत साता मिक्मार तामाङ, सुनिल महर्जन, लिलाधर गिरी, कृष्णलाल मोक्तान, समिर भट्टराई, विशाल विश्वकर्मा, सानुकान्छा तामाङ, अर्जुन बुढा मगर लगायत एक दर्जनभन्दा बढी मानिसहरूले आफू ठगिएको भन्दै निवेदन दिए । उनीहरूले निवेदनमा आफूलाई केही व्यक्तिले यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको भन्दै ठगी गरेको व्यहाेरा दिएका थिए ।
पीडितका अनुसार आफूलाई कार्यालयको कर्मचारी बताउने व्यक्तिले लाइसेन्स बनाई दिने, ट्रायल पास गराई दिने र प्रदूषण जाँचपास गराई दिने लगायतका काम गराइदिन्छु विश्वास दिलाएका थिए । त्यसपछि काम गराइदिन्छु भन्ने व्यक्तिले पीडितहरूबाट नगद तथा सुनका गहना लिन्छन् । तर काम नगरी टार्न खोजेपछि पीडितले आफू ठगिएको थाहा पाउँछन् र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुग्छन् ।
प्रहरीले अनुसन्धान गर्दै आफूलाई पीडित व्यक्तिहरूका अघि सम्राट, समीर, रागब जस्ता नामले चिनाउने राजु परियारलाई ललितपुरको महालक्ष्मीबाट शनिबार पक्राउ गरेको थियो । उनीमाथि थप अनुसन्धान गर्दै जाँदा परियारले दर्जन बढी व्यक्तिबाट चार लाख ३० लाख बढी ठगी गरेको प्रहरीले जनाएको छ ।
त्यसबाहेक पनि परियारले पीडितबाट लगेको सुन खोज्दै जाँदा उक्त सुन कृष्ण ज्वेलर्स एण्ड सन्समा बिक्री गरेको खुलेको थियो । त्यसपछि प्रहरीले त्यहाँ पसलमा छापा हान्दा सुनलाई गाली ढिक्का बनाइराखेको अवस्थामा ११.६८० ग्राम सुन पेला पारेको थियो । फेला परेको सुन बरामद गरी प्रहरीले आइतबार सञ्चालक ब्रम्हा रिसाललाई पक्राउ गरेको हो ।
उनीहरूमाथि ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको छ ।