काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा १२ अर्ब लगानीमा माथिल्लो तमोर ‘ए’ जलविद्युत आयोजना बन्ने भएको छ ।
वातावरण विभागमा पेस गरिएको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनकाअनुसार ६० मेगावाट क्षमताको माथिल्लो तमोर ‘ए’ जलविद्युत आयोजना बन्ने भएको हो ।युनियन हाइड्रोपावर लिमिटेडले निर्माण गर्न प्रस्ताव गरेको आयोजना तमोर खोलामा आधारित जलविद्युत आयोजना हो
नदी प्रवाहमा आधारित रहने आयोजनाको जडित क्षमता ६० मेगावाट र औसतमा वार्षिक उत्पादन हुने विद्युतीय उर्जा ३३३.८२२ गिगावाट घण्टा रहने प्रतिवेदनमा उल्लेख छ ।
कुल लागत १२ अर्ब ८५ करोड ९० लाख लाग्ने बताइएको छ । प्रतिमेगावाट जलविद्युत उत्पादनका लागि २२ करोड २१ लाख १५ हजार ८१६ रुपैयाँ लागत आयोजनामा पर्नेछ ।
३० वर्षको आर्थिक अवधि राखिएको आयोजनाको निर्माण सुरु भएको समयबाट तीन वर्षमा सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
आयोजना निर्माणका लागि १८५५ वटा रुख काटिने पनि विवरणमा उल्लेख गरिएको छ । त्यस्तै, आयोजनाबाट उत्पादन हुने विद्युतीय उर्जालाई १३२ किलोभोल्टको सिंगल सक्रिट प्रसारण लाइनको प्रयोग गरि १५ किलोमिटर टाढा रहेको ढुङ्गेसाँगु सबस्टेसनमा जोडिने छ ।