तुलसी सिटौला । ( आठराइ ) गजेन्द्र इस्वो स्मृति रन्निङ्ग कपको बिजेता टिम आठराई गा पा ‘ए’ लाई आठराई गाउँपालिकाले एक कार्यक्रमका बीच खेलाडीहरू र प्रशिक्षकलाई सम्मान गरेको छ । बुधबार पालिकाले सम्मान गरेको हो ।
गत वर्षबाट संचालन हुदै आएको गजेन्द्र इस्वो स्मृति रनिङ्ग कपको दोस्रो सस्करणको उपाधि आठराई गाउपलिकाको टिम ‘ए’ ले जितेको छ । आठराई गाउँपालिका–२ खाम्लालुङ स्थित कालिका आ.विको खेलमैदानमा भएको पुरुष फुटबलतर्फको फाइनलमा आठराई गाउँपालिका ‘ए’ ले निघुरादिन स्पोटिंग क्लब आठराइ त्रीवेणीलाइ सडन डेथमा ४–३ गोल अन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो । निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा खेल सडन डेथतर्फ धकेलिएको थियो । जसमा आठराई गाउँपालिकाले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
सेमिफाईनलमा साविक विजेता म्यांलुङ्ग स्पोटिङ्ग क्लबलाई ट्राइवेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आठराई गाउँपालिका ‘ए’ फाइनलमा पुगेको थियो भने निघुरादीनले डाइमन्ड एफ सि विराटनगरलाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो ।विजेता बनेको आठराईले उपाधिसहित रु १ लाख ५० हजार हात पार्यो भने उपविजेता निघुरादिनले रु १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
प्रशिक्षक कालू लामालाई गाउँपालिकालको फूटबल प्रशिक्षकमा नियुक्ति गरे पश्चात गाउँपालिका भरीबाट राम्रो खेल्ने खेलाडीहरुलाई छनोट गरी केही दिन मात्र बन्द प्रशिक्षण गराई पहिलो पटक प्रतियोगितामा आठराई गाउँपालिकाले सहभागीता जनाएको थियो । सुरुवाती सफलता हात परेकोमा आफू धेरै खूसी भएको र आठराई गाउँपालिकालाइ फूटबलको माध्यम बाट चिनाउन मेहनत गर्ने हौसला मिलेको प्रशिक्षक कालू लामाले बताए ।
कार्यक्रममा बोल्दै आठराई गाउँपालिका अध्यक्ष दिल कुमार पहिमाले आगामी दिनहरूमा पनि गाउँपालिकालाई खेल क्षेत्रमा उच्च स्थानमा पुर्याउन सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । खेलाडी र प्रशिक्षकको भूमिकालाई गाउँपालिकाले धन्यवाद सहित उच्च मूल्यांकन गरेको बताए ।
आठराई गाउँपालिकाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत,शिक्षा प्रमूख,वडा अध्यक्ष, माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु,गाउँपलिकाका विभिन्न क्षेत्रका कर्मचारी लगाएतले प्रशिक्षक सहित सबै खेलाडीहरुलाई खादा र अविर लगाएर सम्मान गरेका थियो । उक्त प्रतियोगिताबाट पाएको पुरस्कार नगद र प्रमाणपत्र खेलाडीलाई वितरण गरिएको थियो । रन्निङ्ग ट्रफी गाउँपालिकाको कार्यालयमा रहने गरी खेल क्याप्टेन उमेश कन्दङवाले पालिका अध्यक्षलाई हस्तान्तरण गरेका थिए ।