काठमाडाैं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाकाे निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले जारी गरेकाे निर्वाचन आचारसंहिता भाेलि बुधबारदेखि लागू हुने भएकाे छ । सामाजिक सञ्जालले निर्वाचनलाई असर पुर्याउन सक्ने भन्दै आयोगले यसपटक आचार संहितामा सामाजिक सञ्जालका विषय प्राथमिकताका साथ समेटेको छ ।
निर्देशिका अनुसार निर्वाचनलाई प्रभाव पर्ने गरी सामाजिक सञ्जालमा कुनै पनि सामग्री राख्न पाइने छैन । आयोगले सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने तथा अपमान गर्ने कुनै पनि सामग्री नराख्न आग्रह गरेको छ । त्यस्तै द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टिका टिप्पणी समेत नगर्न वा नगराउन पनि आयोगले आग्रह गरेको छ ।
– सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने
– निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा अकाउन्ट सञ्चालन गर्न वा झुटा साइट खोल्न वा सञ्चालन गर्न वा गराउन नहुने
– सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने,
– कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न वा गराउन नहुने,
-निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने