इलाम । मेची राजमार्गसहित जिल्लाका एक सय ४३ सडक रुटको नयाँ सवारी भाडादर कायम गरिएको छ। मेची राजमार्गको इलाम-बिर्तामोड तथा इलाम-फिदिम रुटमा २२ प्रतिशत तथा राजमार्गबाहेकका सडक रुटको भाडादर १५ प्रतिशतले बढेको छ। तर, मेची राजमार्गबाहेकका सडकको चाहिँ अवस्था अध्ययन गरी एक महिनापछि भाडादर पुनरावलोकन गरिने भएको छ।
अब मेची राजमार्गअन्तर्गत इलाम–बिर्तामोडको भाडा ४३० र इलाम–फिदिमको भाडा ४०८ रुपैयाँ कायम भएको छ। स्थानीय यातायात व्यवस्थापन समितिको आइतबार बसेको बैठकले २०७८ असोज १८ मा तोकेको भाडादरलाई आधार बनाएर नयाँ भाडादर समायोजन गरेको हो। यसअघि तोकिएको आधिकारिक भाडादरअनुसार इलाम–बिर्तामोडको ३५३ र इलाम–फिदिमको ३३५ रुपैयाँ थियो।
समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले नयाँ भाडादर आइतबारबाटै लागू भएको बताए। ‘बैठकले निर्णय गरिसकेपछि नयाँ भाडादर लागू भएको छ,’ उनले भने, ‘मूल्यवृद्धिका सूचक, जिल्लाका सडकहरूको अवस्था र संघीय सरकारले तोकेको भाडादरलाई विश्लेषण गरी समितिले भाडादर कायम गरेको छ ।’
विभिन्न समयमा पेट्रोलियम पदार्थको मूल्य बढेको र अन्य कारण देखाउँदै सवारीका साधनले ०७८ असोज १९ देखि लागू भएको भाडादर आफूखुसी बढाएका थिए। तर, अहिले समायोजन भएको भाडादर व्यवसायीले आफूखुसी बढाएको भाडादरमा आधारित नभइ ०७८ असोज १८ को निर्णयका आधारमा कायम भएको प्रजिअ ढुंगानाले जानकारी दिए। ‘तोकिएभन्दा बढी भाडा लिएको पाए कारबाही हुनेछ,’ उनले भने, ‘व्यवसायीले कुनै पनि बहानामा तोकिएभन्दा बढी भाडा लिन पाउने छैनन् ।’
मेची राजमार्गबाहेकका सडकमा पोहोर भाडा निर्धारण गर्दा कच्ची रहेका सडक अहिले ग्राभेल वा पक्की बनेको हुनसक्ने र स्थानीय तहले निर्माण गरेका नयाँ रुटसमेत थप भएकाले त्यसको चाहिँ अध्ययन गरेपछि मात्रै भाडा कायम हुने समितिले जनाएको छ।
समितिले यसअघि र यो बैठकमा यातायात व्यवसायीसँग भएका सहमति कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ। ‘भाडादर लागू हुने र यात्रुलाई सवारी साधनले दिने सुविधाको अनुगमन तथा कारबाही प्रशासनले कडाइका साथ गर्नेछ,’ प्रजिअ ढुंगानाले भने।