विराटनगर । पाँच दलीय गठबन्धनले सिट बाँडफाँटको जिम्मा कार्यदललाई दिएपनि प्रदेश १ मा दलहरुले क्षेत्र र सिटका बारेमा आफ्ना आफ्नै दाबी गरेका छन्।गठबन्धन दलहरुबीच सिट बाँडफाँटको विषयमा रस्साकस्सी हुँदा अहिले निर्वाचन केन्द्रित कार्यक्रममा लाग्न भन्दा पनि टिकट कसरी पाउने र क्षेत्र सुरक्षित कसरी गर्ने भन्ने ध्याउन्नमा नेताहरू लागेका छन्।
सिट विभाजनको हलो अड्किँदा दशैँअघि प्रदेशमा चुनावी सरगर्मी नबढ्ने देखिएको छ। नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापा नेताहरू चुनावी प्रचार प्रसारमा भन्दा पनि आफ्नो क्षेत्र कसरी सुरक्षित गर्ने भन्नेमा लागेको बताउँछन्। प्रदेशलाई उम्मेदवारको टिकट वितरण र गठबन्धन गर्ने विषयमा कुनै जिम्मेवारी नदिएपनि दलहरूका बिचमा आ–आफ्नै दाबी रहेकाले समस्या भएको उनले बताए। थापाले पार्टीले प्रदेशलाई पार्टीको कुन क्षेत्रमा के कस्तो अवस्था छ भनेर सामान्य जानकारी मात्रै माग गरेको बताए। उनले भने, ‘हाम्रो भूमिका केही छैन। तर क्षेत्र र सिट सुरक्षित गर्नु पर्ने ठूलो प्रेसर छ।’
थापाले कार्यदललाई गठबन्धन गर्ने र क्षेत्र वितरण गर्ने जिम्मा दिइएकाले सो निर्णय मानेर जाने बताए। गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा १० क्षेत्र आफूले पाउनु पर्ने दाबी गरेको छ। माओवादीका प्रदेश उपाध्यक्ष शिव डाँगीले प्रतिनिधि सभामा कम्तिमा ११ र प्रदेशमा कम्तिमा २२ क्षेत्र माओवादीले पाउनु पर्ने बटम लाइन रहेको बताए। प्रदेश १ मा प्रतिनिधि सभामा २८ निर्वाचन क्षेत्र र प्रदेशमा ५६ वटा निर्वाचन क्षेत्र रहेका छन्। २८ मध्ये माओवादीले सुनसरीको क्षेत्र नम्बर १, झापाको १ र २, मोरङको ४ र ५ निर्वाचन क्षेत्र आफ्नो भागमा पर्नु पर्ने दावी गरेको छ। यस्तै सोलु, भोजपुर, उदयपुर धनकुटा, ताप्लेजुङ र पाँचथर माओवादीले पाउनु पर्ने माग राखेको डाँगीले बताए।
उनले भने,‘क्षेत्र बाँडफाँड गर्ने जिम्मा कार्यदललाई दिइएको छ। कार्यदललाई हामीले लाइनको रुपमा पठाएका छौँ। यही अनुसार निर्णय हुन्छ भन्ने हामीलाई लागेको छ।’गठबन्धनमै रहेको जनता समाजवादी पार्टीले भने प्रदेश १ मा प्रतिनिधि सभाको ४ वटा क्षेत्रमा दाबी गरेको छ। जनता समाजवादी पार्टीका प्रदेश १ का मुख्य सचिव प्रभु श्रेष्ठले सुनसरी १ र ४, मोरङ ५ र धनकुटा जसपाले पाउनुपर्ने माग राखेको बताए। कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाले भने कांग्रेसले प्रतिनिधि सभामा जित्ने आधारमा क्षेत्र बाँडफाँड हुनुपर्ने माग दाबी भएको बताए।
प्रतिनिधि सभामा यति नै सिट भनेर हामी लागेका छैनौँ। तर जितका आधार तय भएका क्षेत्रहरु नछाड्ने रणनीतिमा कांग्रेस रहेको उनले बताए। एकीकृत समाजवादीका केन्द्रीय सचिव केशव विष्टले प्रतिनिधि सभामा प्रदेश १ मा कम्तिमा ४ क्षेत्र आफूहरुले पाउनु पर्ने दाबी रहेको बताए। बिष्टले इलाम १ सुनसरी २ खोटाङ, भोजपुर र ताप्लेजुङमा एकीकृत समाजवादीले पाउनु पर्ने बताए।
प्रदेशमा माग माथि माग
प्रदेश १ मा ५६ वटा प्रदेश निर्वाचन क्षेत्र रहेका छन्। ती मध्ये माओवादीले २२ वटा प्रदेश सभामा दाबी गरेको छ।माओवादीले पाँचथरका दुई, इलाममा १, झापामा ४, मोरङमा ४ सुनसरीमा ३ वटा प्रदेश निर्वाचन क्षेत्रमा दावी गरेको छ। माओवादीले उदयपुरमा २, तेह्रथुममा १, संखुवासभामा १, खोटाङमा १, ओखलढुंगामा १, सोलुमा १, र भोजपुरमा एउटा प्रदेश निर्वाचन क्षेत्रमा दाबी गरेको उपाध्यक्ष डाँगीले बताए।
एकीकृत समाजवादीले भने प्रदेश सभामा १५ वटा क्षेत्र पाउनु पर्ने दाबी गरेको छ। तर अहिले नै कुन कुन क्षेत्र माग्ने भनेर निर्णय भइनसकेको सचिव विष्टले बताए।उनले आन्तरिक तयारी भइरहेको र क्षेत्र किटान गरेर पठाउने बताए। जनता समाजवादीले तेह्रथुम र ताप्लेजुङ बाहेक पहाडी जिल्लामा एक एक प्रदेश निर्वाचन क्षेत्र माग गरिएको जनाएको छ।
जसपाले सुनसरीमा २, मोरङमा २, झापामा १ र उदयपुरमा १ वटा प्रदेश निर्वाचन क्षेत्रमा माग दाबी रहेको जनाएको छ।




