काठमाडौँ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अहिले पनि सामन्तवादको अन्त्यका लागि संघर्षरत रहेको बताएका छन्।
दोस्रो नेपाल युवा उद्यमशीलता सम्मेलनलाई आइतवार काठमाडौंमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
‘राजनीतिमा हामीले निरंकुशताको अन्त्य हुनुपर्छ र सामन्तवादको अन्त्य हुनुपर्छ भन्यौँ’, उनले भने, ‘युवा भएकै बेला हामीले परिवर्तनका लागि अठोट गरेका थियौँ। त्यो अठोट अहिलेसम्म कायम छ।’
उनले दृढ अठोटले नै सफल हुन सकिने पनि बताए। ‘दृढ अठोट राख्नुस्, सफलता चुम्न आइपुग्छ’, उनले भने, ‘खान नपाएर पहाडबाट चितवन बसाइँ सरेको परिवारको बच्चा हो म। दुई दुई पटक त म प्रधानमन्त्री भइसकेँ। कसरी यो सम्भव भयो, सपना हो कि विपना जस्तो लाग्छ।’
उनले एउटा गरिब परिवारबाट उठेर दुई पटकसम्म देशको नेतृत्व गर्न सकेकोमा आफूलाई गर्व लाग्ने पनि बताएका छन्। ‘यसमा मलाई गौरवशाली पनि ठान्छु’, उनले भने, ‘मैले कहिल्यै नभएको विद्रोहको पनि मैले कमान्डमा गरेँ। सबैले अवसर पाएर पनि यस्तो गर्न सक्दैनन् तर मैले गरेँ। विस्तृत शान्ति सम्झौताबाट युद्धलाई शान्तिमा लैजाने काम पनि मैले गरेको थिएँ।’