ताप्लेजुङ — आसन्न निर्वाचनका लागि नेपाली कांग्रेस ताप्लेजुङले प्रत्यक्षमा पाँच र समानुपातिकमा तीन आकांक्षीको नाम सिफारिस गर्ने भएको छ । विधानअनुसार प्रत्यक्षमा तीन र समानुपातिकमा दुईको मात्रै नाम पठाउनुपर्ने भए पनि सम्भावित विवादका कारणले सबै आकांक्षीको नाम पठाउने निर्णयमा पुगेको हो ।
कांग्रेस सभापति गजेन्द्रप्रसाद तुम्याहाङका अनुसार प्रत्यक्षतर्फ सभापति स्वयंसहित टीका गुरुङ, बलबहादुर तामाङ, प्रतापप्रकाश हाङगाम र मणि लामाको नाम सिफारिस गर्ने निर्णय भएको छ । समानुपातिकतर्फ लिलादेवी बोखिम, युवराज गुरुङ र शिला इजमको नाम छ ।
‘जिल्लामा ६१ वटै वडामा पुग्न कम्तीमा दुई महिना समय लाग्ने भएकाले प्रत्यक्षतर्फ सर्वसम्मतिमा एक जनाको नाम सिफारिस गरौं भनेको थिएँ,’ सभापति तुम्याहाङले भने, ‘सहमति नजुटेपछि सबैको नाम सिफारिस गर्नुपर्यो ।’ सिफारिस गरिएकाहरू महाधिवेशन प्रतिनिधि हुन् । प्रदेशसभा ‘क’ का लागि प्रत्यक्षमा डिल्लीरमण बराल, लक्ष्मीप्रसाद भट्टराई र गोपाल गुरुङको नाम अघि सारिएको छ । समानुपातिकका लागि पुरुषतर्फ केशवप्रसाद दाहाल, पदमसुन्दर पालुङ्वा, रामप्रसाद कङ्लिवा र मंगल मेन्याङ्बो एवं महिलातर्फ शीला इजम, मीना गुरुङ र मातृकादेवी प्रसाईको नाम सिफारिस भएको क्षेत्रीय सभापति लक्ष्मी भट्टराईले जानकारी दिए । दलितबाट सन्तोष पुर्कोटीको दाबी आएको सभापति गजेन्द्र तुम्याहाङले बताए ।
प्रदेशसभा ‘ख’ को प्रत्यक्षतर्फ क्षेत्रीय सभापति खगेनसिंह हाङ्गामको नाम सर्वसम्मतले चयन भएको छ । समानुपातिकमा पुरुषतर्फ इन्द्र केदेम, गणेशबहादुर चोङ्वाङ, तिलप्रसाद सुब्बा र टेकबहादुर साँवा र महिलातर्फ गीता सेन्दाङ, कविता सुब्बा, नरमाया केदेम, कल्पनादेवी सिटौला र चन्द्रकला लिम्बूको नाम अघि बढाइएको छ । एमालेले भने भदौ २० मा प्रदेश र भदौ २१ मा छनोट गर्ने जनाएको छ । प्रदेश ‘क’ को सदरमुकाम फुङलिङ र ‘ख’ को दोभान बजारमा चयनको तयारी भएको जिल्ला कमिटी अध्यक्ष भुपेन्द्र थेबेले बताए । त्यसैगरी, सदरमुकाम फुङलिङमा प्रतिनिधिसभाका उम्मेदवारको नाम चयन गर्ने तयारी छ । अहिलेको अवस्थालाई दृष्टिगत गरी जित्न सक्ने उम्मेदवार छान्ने उनी बताउँछन् । एमालेमा पनि आकांक्षी सबैको नाम पठाउने कि छनोट गरेर पठाउने भन्ने विवाद कायमै छ ।
माओवादीले यसअघि नै सिफारिस गरी सकेको छ । प्रतिनिधिसभाका लागि जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) प्रदेश सदस्य लक्ष्मी अङछङवो र जिल्ला सह इञ्चार्ज मिङमा डण्डु शेर्पाको नाम सिफारिस गरेको हो । प्रदेशमा पनि उनीहरूकै नाम दोहोर्याइएको छ । प्रदेश क मा पराग र बमबहादुर भट्टराई (तारा) को नाम सिफारिस गरिएको छ भने ख मा लक्ष्मी अङछङवो र मिङमाडण्डु शेर्पाको नाम छ । तारा भने प्रदेश सदस्य एवं फुङलिङ नगरपालिकाका निवर्तमान उपप्रमुख हुन् । माओवादी स्रोतका अनुसार प्रतिनिधिसभा र प्रदेश क माओवादीको भागमा परे पराग उम्मेदवार हुन् । प्रदेश ख मा परे अङछङवो उम्मेदवार हुन् । गठबन्धनलाई दृष्टिगत गरी सिफारिस गरिएको जिल्ला कमिटी संयोजक विष्णुकुमार हाङवाङ वीरुले जानकारी दिए । समानुपातिकको भने नाम संकलन भइरहेको तर सिफारिस गरी नसकेको माओवादीले जनाएको छ ।