पाँचथर । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बे गृह जिल्ला पाँचथरबाट आगामि मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनाबको लागी उम्मेदवार सिफारिस भएका छन् ।
गृह जिल्ला पाँचथरमा भिष्मराज आङदेम्बेको नाममा एकल सिफारिस गरिएको नेपाली कांग्रस पाँचथरले जनाएको छ ।
एकमात्र निर्वाचन क्षेत्र रहेका पाँचथरमा यस अघि नेकपा एमालेबाट बसन्त कुमार नेम्बाङलाई सिफारिस गरेको छ । यसै आधारमा हेर्दा पाँचथरमा आङदेम्बे र नेम्बाङ फेरी चुनाबी मैदानमा आम्नेसाम्ने हुने पक्का जस्तो देखिन्छ ।
२०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित एमाले नेता वसन्तकुमार नेम्बाङ एमालेमा प्राप्त जिम्मेवारी पुरा गर्ने नेताका रुपमा परिचित छन् । कांग्रेसबाट पराजित भिष्मराज आङदेम्बेको राजनीतिक पहिचान पनि यो पटक फेरिएको छ ।नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाका अति निकट मानिने आङदम्बे कांग्रेसको १४ औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भए । दुबै नेताले राष्ट्रिय पहिचान बनाएका छन् ।
अघिल्लो निर्वाचनमा पराजित भीष्मराज आङदेम्बे यसपटक हारको घाउमा मल्हम लगाउने तयारीमा छन्। एक मात्रै निर्वाचन क्षेत्र रहेको पाँचथरमा ०७४ सालको निर्वाचनमा वाम गठबन्धन (एमाले)का तर्फबाट उम्मेदवार बनेका बसन्तकुमार नेम्वाङ निर्वाचित भएका थिए। नेम्वाङ ३८ हजार ६४१ मत ल्याएर विजयी हुँदा आङदेम्बेले २८ हजार २५ मत ल्याएका थिए।
१० हजार ६१६ मतान्तरले पराजित आङदेम्बे यसपटक कथा बदल्ने दाउमा छन्। स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने पाँचथरमा एमाले बलियो देखिन्छ। एमालेका वडाध्यक्षका उम्मेदवारले यो क्षेत्रमा ३० हजार ९५८ मत प्राप्त गरेका छन्। कांग्रेसले २५ हजार ६५ मत प्राप्त गर्दा माओवादीले ११ हजार ८०८, जसपाले २ हजार ६४३, नेकपा एसले २ हजार १६१ र राप्रपाले १ हजार ९०९ मत प्राप्त गरेका छन्।
तर गत स्थानीय तहको परिणाम हेर्ने हो भने एमालेका लागि असहज देखिएको छ । जिल्लाका ८ पालिकामध्ये ६ पालिका जित्दै कांग्रेस पहिलो दल बनेको छ भने एमाले र माओवादीले एक-एक पालिका जितेका छन् । कांग्रेसले कुम्मायक, तुम्मवेवा, फालेलुङ, फाल्गुनन्द र हिलिहाङ गाउँपालिकासहित फिदिम नगरपालिका जितेको छ ।
त्यस्तै, माओवादीले मिक्लाजुङ गाउँपालिका र एमाले याङवरक गाउँपालिकामा निर्वाचित भएको छ । वडागत मतका आधारमा एमालेको सबैभन्दा बढी मत भए पनि सत्ता गठबन्धनका दलहरुको मत एमालेको भन्दा साढे १२ हजार बढी छ ।
पाँचथरमा सत्तारुढ गठबन्धनका पक्षमा ४१ हजार ६७७ मत देखिन्छ। गठबन्धनको मत मजाले ट्रान्सफर भए आङदेम्बेलाई अघिल्लो निर्वाचनको पराजयको बदला लिन सहज देखिन्छ।
२०७४ को संघीय निर्वाचनको मत परिणाम
वसन्तकुमार नेम्बाङ ३८ हजार ६ सय १६ मत
भिष्मराज आङदेम्बे २८ हजार ३५ मत
मतान्तर १० हजार ५ सय ८१