उदयपुर । अघिल्लो दिन आफ्नै भाइ, बुहारी र भतिज गरी ३ जनाको हत्या गर्ने अभियुक्त नगरबहादुर बस्नेतले आरोप स्वीकारेका छन्। घरदेखि खेती जाँदै गरेका ३७ वर्षीय भाइ राजकुमार बस्नेत, ३३ वर्षीया बुहारी सरिता र १३ वर्षीय भतिज सुजनलाई कत्लेआम गर्ने ४३ वर्षीय बस्नेतले प्रारम्भमै हत्या स्वीकारेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बेलका नगरपालिका ७ मैनामैनीको गोवाटारस्थित बाबिङ खोलामा रहेको खेतमा धान गोड्न गइरहेका राजकुमारको परिवारलाई उनले एकै चिहान बनाएको प्रारम्भिक बयानमै स्वीकारेका हुन्। धारिलो खुकुरी भिरेका नरबहादुरले भाइ राजकुमारलाई बाटैमा छप्काएर ढालेपछि खेत पुगिसकेका बुहारी सरिता र भतिज सुजनलाई खोलामा काटेर हत्या गरेको स्वीकारेका छन्।
जिल्ला प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालका अनुसार एकान्त ठाउँमा रहेको खेतमा शुक्रबार बिहान ११ः०० बजेको घट्नाबारे ३÷४ घण्टासम्म कसैलाई जानकारी थिएन। हत्या गरेर त्यहाँबाट हिडेका उनको खोजी ३ः०० बजेमात्र स्थानीयमार्फत प्रहरीलाई जानकारी गराएपछि मात्र सुरु भएको हो।
कसैले नदेखेको हुनाले निर्धक्क हिँडेका बस्नेतलाई बेलका ६ को बरबोटेस्थित मदन भण्डारी लोकमार्गमा सडकै सडक हिँडिरहेको अवस्थामा साँझ ५ः३० बजे पक्राउ गरेको फुयालले बताए।
बेलकास्थित इलाका प्रहरी कार्यालय रामपुरबाट निरीक्षक कमाण्डमा र जिल्ला प्रहरीबाट डिएसपी कमाण्डको टोली घट्नास्थल खटाएर खोजी गर्दा उनलाई पक्राउ गर्न सफल भएको उनले बताए। पक्राउ पर्दा पनि बस्नेत रगत सुक्दै गरेको खुकुरी भिरेको अवस्थामा थिए।
प्रहरी नियन्त्रणलगत्तै प्रारम्भिक अनुसन्धानकै क्रममा उनले भाइ-बुहारी र भतिजको हत्या गरेको स्वीकारी बयान दिएका हुन्। घट्ना शुक्रबार भएको र शनिबार बिदा परेकाले आइतबार कार्यालय खुलेको पहिलो प्रहरमै उनलाई म्याद थपेर अनुसन्धान थाल्ने तयारी प्रहरीको छ। म्याद थपेपछि पत्रकार सम्मेलन गरी अपराधीलाई सार्वजनिक गर्ने एसपी फुयालले बताएका छन्। नागरिक न्यूजबाट