बिर्तामोड । नेपालमै पहिलोपल्ट धामी झाँक्रीहरुको राष्ट्रिय सम्मेलन झापाको बिर्तामोडमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङले धामी झाँक्रीहरु समाजको अभिन्न अंग भएकाले उनीहरुलाई हेयको दृष्टिले हेर्न नहुने धारणा राखेका छन् ।
नेपाल राष्ट्रिय धामी वैद्य संघद्वारा शनिबार आयोजित सम्मेलन तथा ‘नेपाली धामी झाँक्री संस्कृति तथा परम्परागत उपचार पद्धति’ विषयक पुस्तक लोकार्पण कार्यक्रमलाई गर्दै उनले धामी झाँक्रीहरुमा वर्ग, लिङ्ग आदि कुनै पनि किसिमको विभेद नहुने बताए ।
यस्ता कार्यक्रमले विश्वमा धामी झाँक्रीहरुको संस्कार बारे सकारात्मक सन्देश प्रवाह गर्न मद्दत पुग्ने दाबासमेत गरे । यस किसिमको कार्यक्रमबाट धामी झाँक्रीहरुले गर्ने संस्कारको पनि नवीकरण हुने उनको भनाइ छ ।
सोही कार्यक्रममा नेपाली धामी झाँक्री संस्कृति तथा परम्परागत उपचार पद्धति विषयक पुस्तक पनि लोकार्पण गरिएको थियो । झाँक्रीविद् एवम् पुस्तकका परिकल्पनाकार भोलानाथ बाँस्तोलाको अनुसन्धान, निर्देशन र प्रकाशनमा प्रकाशित पुस्तकमा २० जना धामी झाँक्रीको अनुभव समेटिएको छ । सन्दीप सापकोटाको सम्पादनमा तयार भएको पुस्तकमा समेटिएको धामी झाँक्रीहरुको अन्तरवार्ता संघका सचिव रोशन भेटवालले गरेको बताइएको छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृतिविद् डा भक्त राई, नेपाल संस्कृत विश्वविद्यालयका तन्त्रविद् डा माधवप्रसाद लामिछाने, पुस्तकका सम्पादक सापकोटा र तन्त्र र झाँक्रीविद् बाँस्तोलाले धामी झाँक्रीका विषयमा छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यस्तै कार्यक्रममा अनुमानित एक करोड ६० लाख रुपैयाँको लागतमा निर्माण हुने संघको भवनसहित संग्राहलय र गुफा घरको गुरुयोजना सार्वजनिक गरिएको थियो । कार्यक्रममा गुरुहरु डिल्लीराम आचार्य, छविलाल रसाइली, डिल्लीराम बाँस्कोटा, खडानन्द अधिकारी, गोगलाल राजवंशी, दलबहादुर लक्सम, बाबुलाल दनुवार, मिनकुमार दनुवारबाट झाँकी, मुकुट प्रदर्शन गरिएको थियो ।
संघका संरक्षक एवम् जग्गादाता प्रदीपकुमार पुरीले स्वागत गरेको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी, धर्मगुरु किशोर गौतमलगायतले मन्तव्य राखेका थिए । संघका अध्यक्ष सीताराम पुरीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन पुस्तकका सम्पादक सापकोटाले गरेका थिए ।