पाँचथर। सरकारले सुकुम्बासीहरुको समस्या हल गर्न बनाएको राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाँचथरमा पाँच हजार भन्दा बढी सुकुम्बासीहरुले निबेदन दिएको समितिले जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै समितिले यस बारे जानकारी दिएको हो ।
समितिका अनुसार पाँचथरमा बिभिन्न समय देखि हाल सम्म ५ हजार ८५ जना भूमिहीन सुकुम्बासीले राष्ट्रिय भूमि आयोग जिल्ला समिति समक्ष जग्गा प्राप्तिका लागि निवेदन दिएका छन् । निवेदन दिनेमध्ये भूमिहीन दलित ९०, भूमिहीन सुकुम्बासी १ सय २२ र अव्यवस्थित बसोबासी ४ हजार ८ सय ७३ रहेको आयोगले जनाएको छ ।
जिल्लाको ८ स्थानिय तह मध्ये याङवर गाँउपालिका बाहेक सबै पालिका बाट निबेदन आएको समितिले जनाएको छ । जिल्लामा मिक्लाजुङ गाउँपालिकाबाट मात्रै जग्गा प्राप्तिका लागि १ हजार ७ सय ७६ जनाले निवेदन दिएको समितिका अध्यक्ष दिनेश लावतीले जानकारी दिए ।
फालेलुङबाट ८ सय ७८, तुम्बेवाबाट ८ सय ३०,फिदिम नगरपालिकाबाट ७ सय ९६ , हिलिहाङबाट ७ सय २७, फाल्गुनन्दबाट ४२ र कुम्मायकबाट ३३ जनाको निवेदन परेका छन् । हिलिहाङ गाउँपालिकाले निवेदकलाई अस्थायी निस्सा उपलब्ध गराइसकेको छ भने मिक्लाजुङ गाउँपालिकामा डाटा प्रविष्ट गर्ने काम भइरहेको समितिले जनाएको छ ।