काठमाडौं । सामाजिक सञ्जालमार्फत् नाबालिका र महिलालाई दु:ख, हैरानी र अपमान गरेको आरोपमा प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका-४ घर भई हाल काठमाडौंको बौद्ध भृकुटीचोक बस्ने ३२ वर्षीय जेम्स तामाङ र भारत विहार मोतिहारीका १९ वर्षीय युवक मोहम्मद रमीज राजा रहेका छन् ।
पक्राउ परेका दुवै जनालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
रमीज राजाले सामाजिक सञ्जाल भाइबरमा नाबालिकासँग अडियो सम्वाद गरी सामाजिक सञ्जालमा अश्लिल भिडियो भाइरल भएको भनी डर देखाएको र तामाङले पीडित महिलालाई इन्स्टाग्राम तथा बिंगोमा साथी बनाई अश्लील प्रदर्शन गर्न लगाएर सामाजिक सञ्जालमा हालिदिने भन्दै ब्ल्याकमेल र मानसिक यातना दिएको ब्यूरोको दाबी छ ।