काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ वैवाहिक बन्धनमा बाँधिएका छन् । किरणले विमान परिचारिका रहेकी प्रेमिका कन्चन निरौलासँग बुधबार विवाह गरेका हुन् । किरण जन्तीसहित बालुवाटारस्थित एक ब्याङक्वेटमा पुगेका छन् । विवाह समारोह चलिरहेको छ ।
माजिया स्पोर्टस् एण्ड रिक्रिएसन सेन्टरबाट खेल्दै माल्दिभ्सको धिवेही प्रिमियर लिग जितेको खुसीयाली मनाउने क्रममा साउन १७ गते किरणले प्रेमिका कन्चनलाई विवाहको प्रस्ताव राख्दै औंठी लगाइदिएका थिए । किरणले सामाजिक संजालमार्फत प्रस्ताव राखेको भिडियो पनि सार्वजनिक गरेका छन् । कन्चनसँगै किरणकी आमा पनि माल्दिभ्स पुगेकी थिइन् । किरण गत साता मात्र स्वदेश फर्केका थिए ।
लिग जितेपछि किरण र कन्चनलेसँगै माल्दिभ्समा छुट्टी मनाएको दुवैले सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरेका थिए । कन्चनले ब्याचलर्स पार्टी मनाएको भिडियो सोमबार टिक टकमा अपलोड गरेकी थिइन् । माजियाले अघिल्लो आइतबार एफए कप जित्दा भने किरण खेलेनन् । उनी त्यसै दिन भारतीय (आई) लिग क्लब राउन्ड ग्लास पन्जाब एफसीमा आबद्ध भएका थिए ।
किरणले आफ्नो टोली माजियालाई लगातार तेस्रो सिजन च्याम्पियन बनाउन उच्च प्रदर्शन गरेका थिए । किरणले दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन् । यसअघि किरणले सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका थिए । माल्दिभ्समा किरणले माजियाबाट पहिलो तथा व्यक्तिगत रुपमा दोस्रो लिग उपाधि जितेको छ ।
मायिजाले लगातार तेस्रो सिजन उपाधि जित्दै लिगमा ह्याट्रिक गर्ने क्रममा २१ मध्ये २० खेलमा जित हासिल गर्यो । एक खेलमा पराजित भएको थियो । बंगलादेशविरुद्ध असोज ११ गते दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलका लागि किरणसहित ३० खेलाडी प्रशिक्षणमा समावेश छन् ।