बर्दिया । छोराछोरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बैतडीको दशरथचन्द नगरपालिका–२ का ३० वर्षीय डम्बरबहादुर बोहोरालाई छोराछोरीको हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
०७३ साल साउन २५ गते जन्मेकी छोरी स्मृति ५ वर्षदेखि बेपत्ता छिन् । उनको अवस्था अज्ञात छ । डम्बरले ०७४ साल फागुन २१ गते छोरीलाई घुमाउन लैजान्छु भनेर लगेको श्रीमती कृष्णा चन्द बताउँछिन् । त्यस दिनदेखि छोरीलाई बेपत्ता बनाएर श्रीमान् केही समय घर नफर्केको कृष्णाले बताइन् । नेपाली सेनामा जागिरे बोहोरा भगौडा सैनिक हुन् ।
पटक–पटक छोरी कहाँ छिन भन्दा श्रीमान्ले कहिले एसओएस बालग्राम काठमाडौ त कहिले सुर्खेत भनेर झूट बोल्दै आएको कृष्णाको भनाइ छ । डम्बरले केही समय भारतको हरियाणामा पेट्रोल पम्पमा पनि काम गरेका थिए ।
पछिल्लो समय भने उनी बर्दियाको बासगढी नगरपालिका—५ एसओएस चोकमा डेरा लिई बस्दै आएका थिए । भारतबाट उनी गत साउन ८ गते बासगढी फर्केको प्रहरीलाई दिएको बयानमा भनेका छन् ।
गत साउन १६ गते डम्बरले ४ वर्षीय छोरा दीपकलाई कपडा किन्ने भन्दै लगेका थिए । तर उनी आफू मात्र फर्किए । छोरा घर नफर्किएपछि कृष्णा आत्तिइन् । उनले छोरा हराएको भन्दै उनले इलाका प्रहरी कार्यालय बासगढीमा उजुरी दिइन् । खोजतलासका क्रममा प्रहरीले साउन २३ गते बारबर्दिया नगरपालिका–९ स्थित कल्याण सामुदायिक वनमा दीपकको शव भेटेको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका हृदयेश सापकोटाले बताए ।
‘दीपकको निर्ममतापूर्वक हत्या गरिएको रहेछ,’उनले भने‘तत्काल हामीले डम्बरलाई नियन्त्रणमा लिएपछि उनले छोरा र छोरीको हत्या गरेको स्वीकारेका छन् ।’ डम्बरले छोरीको हत्या गरेको ठाउँ बताए पनि पत्ता लाग्न नसकेको प्रहरीको भनाइ छ ।
कृष्णाले श्रीमान्ले निकै दु:ख दिने गरेको र माइतीबाट पैसा लिएर आउन दबाब दिने गरेको बताइन् । माइतीबाट पैसा ल्याउन नसकेपछि श्रीमान्ले दु:ख दिन थालेको उनी बताउँछिन् ।